
काठमाडौँ : सरकारले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने तयारी गरिरहेकै बेला नेकपा एमालेले भने विधेयक पारित गर्न माग गरेको छ।
एमाले केन्द्रीय समितिको बैठकले विधेयकलाइ अनेकौँ बहानाबाजी गर्दै विधेयक फिर्ता लिने भन्दै पूर्व प्रधानमन्त्री एवम् मुलुककै प्रतिष्ठित राजनीतिज्ञ मनमोहन अधिकारीको नामलाई अपमान गर्ने प्रयास भइरहेको निष्कर्ष निकालेको हो।
'सो विधेयकलाई तत्काल संसदबाट पारित गर्न सरकारसँग माग गर्दछ', बैठकको निर्णयमा भनिएको छ।
मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदको महिला, बालबालिका जेष्ठ नागरिक तथा समाजकल्याण समितिमा विचाराधिन छ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट मनमोहन मेडिकल कलेजलाइ सम्बन्धन पाउने नदेखेपछि केपी ओली नेतृत्वको सरकारले प्रतिष्ठान बनाउन विधेयक ल्याएको थियो। आइओएमबाट मेडिकल कलेज सञ्चालनको आशयपत्र पाएपनि मेडिकल कलेजको सम्बन्धन पाउन सकेको थिएन।
शिक्षा मन्त्री धनिराम पौडेलले चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत गोविन्द केसीलाई गत ३ असोजमा पठाएको पत्रमा विधेयक फिर्ता लिने तयारी भइरहेको जनाएका थिए।
मन्त्रिपरिषद्ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरि मनमोहन अधिकारकी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राख्ने निर्णय गरिसकेको छ।