
काठमाडौँ : भारतले आउँदो कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्क सम्मेलनमा सहभागिता नजनाउने भएको छ।
भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो। अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले स्पष्ट गरेका हुन्।
भारतीय विदेश मन्त्रालयले भनेको छ – एउटा देशले तयार गरेको वातावरणका कारण इस्लामावादमा हुने सार्क सम्मेलनमा सहभागी हुने अवस्था रहेन। भारत यस क्षेत्रको सहयोग, सम्पर्क र सम्बन्ध प्रतिवद्ध छ। तर यी सबै विषय तबमात्र अगाडि बढ्न सक्छन् जब आतंकरहित स्वच्छ वातावरण हुन्छ।
यस्तो अवस्थामा भारत इस्लामावादमा हुने सम्मेलनमा सहभागी हुन सक्दैन।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सार्कका अन्य राष्ट्रहरुको इस्लामावाद सम्म्लनमा सहभागिताको विषयमा 'रिजर्वेसन' रहेको आफूले पाएको जनाएको छ। तर कुन-कुन राष्ट्र भन्ने विषयमा भने भारतले खुलाएको छैन।