
इंग्लिस च्याम्पियन लेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हात पार्दा साबिक विजेता रियल मड्रिड बोरुसिया डर्टमण्डसँग बराबरीमा रोकिएको छ।
घरेलु मैदानमा च्याम्पियन्स लिगको पहिलो जित हासिल गर्ने क्रममा लेस्टरले पोर्चुगिज क्लब एफसी पोर्टोलाई १-० ले हरायो। समूह जी को खेलमा लेस्टरलाई जिताउन यसै सिजन कीर्तिमानी मूल्यमा क्लब भित्रेका इस्लाम स्लिमानीले निर्णायक गोल गरे।
समूह चरणको पहिलो खेलमा क्लब ब्रुगलाई पराजित गरेको लेस्टर जितपछि ६ अंक जोडदै समूहको शीर्ष स्थानमा छ। समूह जी कै अर्को खेलमा एफसी कोपनहेगनले क्लब ब्रुगलाई ४-० ले पराजित गरेको छ। जितपछि कोपनहेगनको ४ अंक भएको छ।
यता स्पानिस जायन्ट रियल दुई पटक अग्रता लिएर पनि जर्मन क्लब बोरुसिया डर्टमण्डसम्ग २-२ गोलको बराबरीमा रोकिएको छ। रियललाई क्रिस्टियानो रोनाल्डो र राफेल भरानले गोल गर्दै दुई पटक अग्रता दिलाए। तर डर्टमण्डका पिएर एमरिक औवामेयङ र आन्द्रे सुरेलले गोल गर्दै बराबरी गरेका हुन्। बराबरीपछि समूह एफमा दुवै टीमको ४ अंक भएको छ। गोल अन्तरको आधारमा रियल समूहको शीर्ष स्थानमा छ भने डर्टमण्ड दोस्रो स्थानमा छ।
समूह एफकै अर्को खेलमा स्पोर्टिङ सिपीले लेगी वार्सालाई २-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ। वार्साको भने यो लगातार दोस्रो हार हो।
यस्तै समूह जी को पहिलो खेलमा गोलरहित बराबरी खेलेका युभेन्ट्स र सेभियाले पहिलो जित हात पारेका छन्। युभेन्ट्सले डाइनामो जाग्रेबलाई ४-० ले हरायो। इटालियन च्याम्पियनको जितमा मिरालेम पिजानिक, गोन्जालो हिग्वेन, पाउलो डाएवला र डानी अल्भेजले १/१ गोल गरे। यस्तै विसान बेन येडरको निर्णायक गोलको मद्दतमा सेभियाले लियोनलाईलाई १-० ले पराजित गरेको छ। सेभियाका लुसियानो डारियो भिएट्टो पेनाल्टीमा गोल गर्न असफल भएका थिए। जितपछि युभेन्ट्स र सेभियाको समान ४ अंक भएको छ भने गोल अन्तरका आधारमा युभेन्ट्स समूहको शीर्ष स्थानमा छ।
अर्को इंग्लिस क्लब टोटनहम हट्सपरले पहिलो जित हासिल गरेको छ। समूह ई को खेलमा टोटनहमले सिएसकेए मस्कोलाई १-० ले हरायो। टोटनहमको जितमा हेउङ मिन सनले निर्णायक गोल गरे। समूह ई कै अर्को खेलमा फ्रेन्च क्लब मोनाको र जर्मन क्लब वायर लेभरकुजनले १-१ गोलको बराबरी खेलेका छन्।