PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

पाकिस्तानको कडा जवाफ- 'आतंककारी गतिविधिका लागि भारतले आर्थिक सहयोग गरिरहेको छ'



पहिलोपोस्ट

पाकिस्तानको कडा जवाफ- 'आतंककारी गतिविधिका लागि भारतले आर्थिक सहयोग गरिरहेको छ'

काठमाडौं : पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्क सम्मेलन बहिस्कार गर्ने भारतको सार्वजनिक अभिव्यक्तिप्रति पाकिस्तानले कडा आपत्ति जनाएको छ।
 
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्तामोहम्मद नफीज जाकारियाले ट्वीटमार्फत स्टेटमेन्ट जारी गर्दै  भारतले सार्क सम्मेलन बहिस्कार गर्नेबारे आफूहरुलाई कुनै औपचारिक जानकारी नआएको र यो पाकिस्तानको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको जनाएको हो।
 
आउँदो कात्तिक २४ र २५ गते सम्मेलन हुँदैछ।

भारतले लिएको यो निर्णयलाई पाकिस्तानले दुर्भाग्यपूर्ण भनेको छ। क्षेत्रीय शान्ति स्थापनाका लागि आफूहरु प्रतिबद्ध रहँदै आएको जनाउँदै विदेश मन्त्रालयले दक्षिण एसियाकै बृहत्तर स्वार्थमा पाकिस्तानले निरन्तर काम गरिरहेको पनि उल्लेख गरेको छ।
 
'भारतको यसखालको गतिविधिले ऊ आफैंले पाकिस्तानमा आतंककारी गतिविधिका लागि आर्थिक सहयोग गरिरहेको छ भन्ने विश्वले बुझेको छ,' मन्त्रालयले भनेको छ। रअका अधिकृत कुलभूषण यादवले सार्वजनिक रुपमा गरेको स्विकारोक्तिले पनि यो पुष्टि हुने पाकिस्तानको दाबी छ।
 
भारतले अन्तराष्ट्रिय काननुन संयुक्त राष्ट्रसंघको महासन्धि विपरीत नै पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गरेको उसको भनाइ छ।
 
यसअघि हिजोमात्रै भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको थियो। अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले स्पष्ट गरेका हुन्।
 
भारतीय विदेश मन्त्रालयले भनेको छ– एउटा देशले तयार गरेको वातावरणका कारण इस्लामावादमा हुने सार्क सम्मेलनमा सहभागी हुने अवस्था रहेन। भारत यस क्षेत्रको सहयोग, सम्पर्क र सम्बन्ध प्रतिबद्ध छ। तर यी सबै विषय तबमात्र अगाडि बढ्न सक्छन् जब आतंकरहित स्वच्छ वातावरण हुन्छ। यस्तो अवस्थामा भारत इस्लामावादमा हुने सम्मेलनमा सहभागी हुन सक्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell