
काठमाडौं : भारतको गुवाहाटीमा जारी ६४ औं बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सेमिफाइनलमा आज सिक्किम युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।
थ्रीस्टार समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। सिक्किम युनाइटेडले समूह बी को उपविजेता बन्दै थ्री स्टारसँगको भेट पक्का गरेको हो।
मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले पराजित गर्दै सिक्किम आफ्नो समूहको उपविजेता बन्न सफल भएको हो।
थ्रीस्टार र सिकिकमबीचको खेल गुवाहाटीको नेहरु स्टेडियममा आज दिउँसो ४ बजे हुनेछ। पहिलो सेमिफाइनलको विजेताले इस्ट बङ्गाल र सिलोङ लाजोङ फुटबल क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
यसअघि समूह चरणका खेलमा थ्री स्टारले १ खेल जितेको थियो भने २ खेल बराबरी गरेको थियो। फाइनल खेल आगामी शुक्रबार हुनेछ। प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख प्राप्त गर्नेछन्।