PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

प्रधानमन्त्रीले वचन दिए- 'साझा प्रकाशनको जग्गा लिलामी हुनबाट जोगाउँछु'



पहिलोपोस्ट

प्रधानमन्त्रीले वचन दिए- 'साझा प्रकाशनको जग्गा लिलामी हुनबाट जोगाउँछु'

काठमाडौं : आर्थिक सङ्कटमा फसेको देशकै पुरानो प्रकाशन संस्था साझा प्रकाशनका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी आर्थिक सहयोगका लागि आग्रह गरेका छन्।

निरन्तर घाटामा रहेको साझाले ऋण चुक्ता गर्न नसकेपछि पुल्चोकस्थित ७ रोपनी जग्गा सहकारी विकास बोर्डले लिलामीका लागि तयारी गरेपछि उनीहरुले लिलामी रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। भेटमा प्रधानमन्त्रीले जग्गा लिलामी हुन नदिने वचन दिएका छन्।

प्रकाशनले कर्मचारीको दसैं सुविधासहित पारिश्रमिक, उपदान, लेखकका लेखकस्व र विभिन्न व्यक्ति, निकाय र संस्थालाई ऋण तिर्न सरकारसँग ४० करोड सहुलियत ऋण माग्दै आएको छ। ऋण तिर्नकै लागि साझाले जग्गा बिक्री गर्ने योजना पनि बनाएको छ।
 
६ वर्षदेखि रोयल्टी दिन नसक्दा स्रष्टाहरूको दसैं खल्लो भएको र संस्थामा कार्यरत कर्मचारीलाई विगतको दसैं खर्च उपलब्ध गराउन नसकिएको बारे महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सो टोलीमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली लगायत सहभागी थिए।

प्रकाशनको सञ्चालक समितिले ४० करोड ऋण सहयोगका लागि नेपाल सरकारसमक्ष कार्ययोजना सहित यसअघि नै प्रस्ताव पेश गरिसकेको भए पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको महाप्रबन्धक शर्माको भनाइ छ। भूकम्पका कारण भवन क्षतिग्रस्त भएको र रकम अभावका कारण पुस्तक जोगाउन पनि समस्या भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell