PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

प्रस्तावित राजदूतको सुनुवाइमा एमाले र कांग्रेस सांसदबीच नै चल्यो जुहारी



पहिलोपोस्ट

प्रस्तावित राजदूतको सुनुवाइमा एमाले र कांग्रेस सांसदबीच नै चल्यो जुहारी

काठमाडौं : भारत र चीनका लागि प्रस्तावित राजदूतहरुमाथि आज संसदीय सुनुवाइ भएको छ। संसदीय सुनुवाइ विशेष समितिमा चीनका लागि प्रस्तावित लीलामणि पौड्याल र भारतका लागि सिफारिस दीपकुमार उपाध्यायमाथि सुनुवाइ भएको हो।
 
उपाध्यायमाथिको सुनवाइ क्रममा एमाले र कांग्रेस सांसदबीच जुहारी चलेको थियो। एमाले सांसदहरुले अनेक प्रश्न तेर्स्याउँदै उपाध्यायलाई र्‍याखर्‍याख्ती पारे भने कांग्रेस सांसदहरुले नै उनीहरुलाई प्रतिप्रश्न गरे।
 
एमाले प्रमुख सचेतक समेत रहेका भानुभक्त ढकालले भने, 'तपाईं देशको भन्दा पनि दलको, सत्ताको र स्वार्थको प्रतिशोधको बिम्ब बनेर जाँदै हुनुहुन्छ। राष्ट्रको राजदूत भएर जाँदै हुनुहुन्न। त्यही भएर पनि पहिले असफल भएर फिर्ता हुनुभयो।'

एमालेकै अर्की सांसद अष्टलक्ष्मी शाक्यले उपाध्यायको सिफारिसलाई आफूले राजनीतिक आस्थाको रुपमा हेरेको बताइन्। राष्ट्रको जिम्मेवारीभन्दा पनि राजनीतिक आस्था हाबी भएकाले फिर्ता हुनुपरेको उनको भनाइ थियो।

एमालेकै गणेशमान गुरुङले 'पहिले असफल भएर फर्किएको ठाउँमा पुन: जाँदा त अप्ठेरो होला नि?' भन्दै व्यंग्य गरे।
 
धर्मनाथप्रसाद शाहले पूर्वमन्त्री समेत भइसकेका उपाध्याय 'सहसचिव' स्तरकै राजदूतमा जान लाग्नुभएको हो?' भन्दै व्यंग्यात्मक प्रश्न गरे।
 
कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले राजदूत पद राजनीतिक भएको भन्दै सहसचिव नभएर पूर्व प्रधानमन्त्रीहरु समेत राजदूत भएको नजिर प्रस्तुत गरे। 'उहाँकै पालामा नाकाबन्दी खुल्यो। भूकम्पको बेलामा भारतको सहयोग आउनुमा उहाँकै भूमिका छ,' उनले भने।

कांग्रेसकै चित्रलेखा यादवले आफू भारत जाँदा नेपाल-भारत सम्बन्ध विस्तारमा उपाध्यायको भूमिका देखेको सुनाउँदै उनको अनुभव र कुशलताकै कारण राजदूतका लागि योग्य रहेको बताइन्।

कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राजदूतको पदको विषयमा सांसदमा कन्फ्युजन रहेको भन्दै एमाले सांसदहरुतर्फ संकेत गरे।
 
माओवादीकी अनिता परियारले उपाध्यायको बचाउ गरेका कांग्रेस सांसदहरुलाई इंगित गर्दै भनिन् 'उहाँकै अघिल्तिर तारिफ नगरेको भए हुन्थ्यो कि।'

आफ्नो तर्फबाट स्पष्ट पार्दै उपाध्यायले आजसम्म कुनै द्वेध चरित्रको भूमिका ननिभाएको बताए। 'म कूटनीतिक मर्यादामै काम गर्छु। मैले राष्ट्रप्रति जिम्मेवार हुनैपर्छ,' उनले भने।
 
एकचोटिमात्र खबर नगरी आएको भए पनि अरु बेला त्यस्तो नगरेको उनले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण स्थगित भएकोबारे बोल्दै उनले वातावरण निर्माण गरिरहेको समयमै फिर्ता आउनुपरेको जानकारी गराए।
 
नकाबन्दीबारे सांसदहरुले राखेको जिज्ञासमा पनि उनले प्रस्ट पारेका छन्। 'एउटा राजदूतले यस्तो भूमिका निर्वाह गर्न सक्दैन,' उनको भनाइ थियो।
 
राजदूतबाट हटाउने विषय अपर्झट र गलत सूचनका साथ भएको भन्दै उनले अहिलेको सिफारिसलाई कूटनीतिज्ञ र बुद्धिजीवीहरुले पहिलेको गलत निर्णय सच्चिएको रुपमा लिएका बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell