
काठमाडौं : ब्याटिङमा सम्हालिएको प्रदर्शन र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पञ्चकन्या तेजले वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा तेजले अपराजित यात्रा कायम राख्ने क्रममा कान्तिपुर गोर्खाजलाई ३४ रनले हरायो। १३० रनको लक्ष्य पछ्याएको गोर्खाजले पूरै २० ओभर खेल्दै ९५ रन मात्र बनाउन सक्यो।
टस जितेर फिल्डिङ रोजेको गोर्खाजले बलिङमा उत्कृष्ट सुरुवात गरेको थियो तर अन्त्यसम्म बलिङको लय कायम राख्न सकेन भने ब्याटिङमा पनि जम्न सकेन।
गोर्खाजका लागि सबैभन्दा धेरै रन सन्दीप जोहराले बनाए। ३३ बल खेलेका सन्दीपले नटआउट १७ रन जोडे। ओपनर सुवास खकुरेल, सन्तोष भट्ट र कप्तान वसन्त रेग्मीले समान १३ रन बनाए भने प्रदीप ऐरीले १२ रन जोडे। गोर्खाजका अविनाश बोहरा ८, कृष्ण कार्की ४ तथा आकाश गुप्ता ३ रनमा आउट भए भने अनिल शाह र ललितसिंह भण्डारीले खाता समेत खोल्न सकेनन्।
१२९ रनको स्कोर डिफेण्ड गर्ने क्रममा तेजका बलरहरुले शानदार प्रदर्शन गरे। तेजका दीपेन्द्रसिंह ऐरीले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै करण केसीले २ तथा भुवन कार्की र सुशील कँडेलले १/१ विकेट लिए। तीनै खेलाडीले समान १/१ मेडल फालेका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको तेजको सुरुवात राम्रो हुन सकेन। २ ओभरमै तेजको ४ विकेट झरेको थियो भने स्कोर ८ थियो। तर ओपनर आसिफ शेखले पाँचौ विकेटका लागि पुष्प थापासँग ३६ रनको महत्वपूर्ण साझेदारी गर्दै स्कोर उकासेका थिए। विकेट झरे पनि आक्रामक ब्याटिङ गर्दै आसिफले १८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३२ रनको योगदान गरे। पुष्पले नै सातौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५२ रनको साझेदारी गरे।
तेजका लागि नटआउट रहेको पुष्पले सर्वाधिक ३८ रन बनाए। पुष्पलाई गतिलो साथ दिएका दीपेन्द्रले २२ रन बनाए। यस्तै १२ बल खेलेका करण केसीले १ छक्काको मद्दतमा १७ रनको योगदान गरे। तेजका भुवन कार्की २ तथा कप्तान शरद भेषावकर १ रनमा आउट भएका थिए भने सन्जय श्रेष्ठ, पृथु बास्कोटा र आसिफ शेख खाता नखोली आउट भएका थिए।
बलिङतर्फ गोर्खाजका अविनाश बोहोराले सर्वाधिक ४ विकेट लिए भने ललितसिंह भण्डारी, ललितनाथ राजवंशी र कृष्ण कार्कीले १/१ विकेट झारे।
लगातार ३ खेलमा जित हात पारेको तेज ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ र शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
४ खेल खेलेको गोर्खाजको यो दोस्रो हार हो। उद्घाटन खेल वर्षाका कारण रद्द भए पनि वारियर्ससँग अंक बाँडेको गोर्खाजले लेजेण्ड्सलाई हराएको थियो तर राइनोजसँग पराजित भएको थियो। दोस्रो हारसँगै गोर्खाजको शीर्ष दुईमा रहँदै फाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ। ४ खेलबाट ३ अंक जोडेको गोर्खाजले अब कलर्स एक्स फ्याकटरसँग खेल्न बाँकी छ।
फोटो : विकेटनेपाल डट कम