
काठमाडौं : फिल्म 'गाँठो'ले चित्रकला प्रदर्शनी थालेको छ। शुक्रबारसम्म चल्ने प्रदर्शनीको चित्रकार किरण मानन्धरले उद्घाटन गरे।
काठमाडौंको कालिकास्थानस्थित सर्वनाम आर्ट ग्यालरीमा गरिएको प्रदर्शनीमा देशभरबाट आएका ६२३ चित्रकलामध्ये छनोट गरेर ३० वटा चित्र राखिएका छन्।
विद्यालय, कलेज र खुला गरी तीन तहमा गरिएको प्रतियोगिता काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, बुटवल, पोखरा लगायत १२ स्थानमा गरिएको थियो। दुर्गा बराल प्रमुख निर्णायक भएको प्रतियोगितामा खुला, कलेज र विद्यालयका उत्कृष्ट पेन्टिङलाई क्रमश ५० हजार, ३५ हजार र २५ हजार पुरस्कार दिइनेछ।
प्रदर्शनीको अन्तिम दिन उक्त पुरस्कार घोषणा गरिने निर्देशक सुरज भुसालले बताए।
त्यस्तै, गाँठोले गरेको देशव्यापी भिडियो कम्पिटिसनमा भीमफेदी गाइजले नगद एक लाख जितेको छ। साउन ७ गते गते घोषणा गरिएको प्रतियोगितामा देशभरिबाट ४१ भिडीयोलाई सहभागी गराइएको थियो। 'माउन्टेन ड्यु माउण्टेन ड्यु' बोलको गीतका लागि भीमफेदी गाइजले बाजी मारेको हो।