
इजरायल : नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ।
दुई साताअघिदेखि सिकिस्त बिरामी भएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार बिहान ३ बजे निधन भएको उनका ज्वाइँ रफी वालडेनले जानकारी दिए।
पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थिए भने जीवनको उत्तरार्धसम्म पनि राजनीतिज्ञका रुपमा क्रियाशील थिए।
प्यालेस्टाइनसँग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।
उनको निधनप्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले शान्तिका लागि सधैंभरि प्रयत्न गरिरहने व्यक्तिका रुपमा उनलाई स्मरण गरेका छन्। ओबामा पेरेजको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन शुक्रबार इजरायल जाने भएको छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनमा महत्वपूर्ण भूमिका खेलेका पेरेजको निधनले दुखित बनाएको बताएका छन्।
अमेरिकाकै पूर्वराष्ट्रपति बिल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रुपमा सम्झना गरेका छन्।
इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गरेका छन् भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतीक भएकाले कहिल्यै भुल्न नसक्ने बताएका छन्।
पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गरेका थिए। रासस/एएफपी