
काठमाडौं : अवैध आगुऔषध खैरो हेरोइन कारोबार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले राजधानीका विभिन्न स्थानबाट ४३ दशमलव ५ ग्राम हेरोइन सहित उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं जयबागेश्वरी बस्ने २७ वर्षीय सूर्य संगत, बाँके उपमहानगरपालिका-८ रानीतलाउ बस्ने २२ वर्षीय प्रकाश जोशी, सोही ठाउँका २२ वर्षीय सदाम अन्सारी, ३२ वर्षिय वीरेन्द्र सिंह र नेपालगन्जका सुनिल गुप्तालाई पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्रहरीले ६८ हजार नगद समेत बरामद गरेको छ।
कसरी पक्राउ परे?
विशेष सुकारीको आधारमा मंगलबार सूर्य संगतलाई बिहान ११ बजे पिंगलास्थानस्थित सडक किनारामा बा ४१ प ३४०६ नम्बरको निलो पल्सरमा प्रतीक्षा गरीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लियो। उनको शरीर खानतलासी गर्दा अवैध खैरो हेरोइन ७ ग्राम र नगद ४ हजार प्रहरीले फेला पार्यो। उनीसँगको सोधपुछपछि प्रहरी अरुसम्म पुग्न सफल भयो।उक्त खैरो हिरोइन सुनिल गुप्ताले बिक्री गरेको पत्ता लागेपछि प्रहरीले गुप्तालाई त्यसै दिन ३ बजे तिलंगाबाट ५.५ ग्राम हेराइन सहित पक्राउ गर्यो। गुप्तालाई केरकार गरेपछि उनी पानस फर्मास्युटिल्कस प्रालि नेपालगन्जका लाइजन अफिसर भएको खुलेको छ। निजले औषधी व्यवस्था विभागबाट दर्ता महाशाखा अन्तरगत उद्योग दर्ता गराएको र अफिसको स्टिल दराजभित्र लुकाइछिपाइ खैरो हेरोइन २२ ग्राम र डिजिटल तराजु समेत राखेको फेला पारेको छ।
गौशालाको एक होटलमा बसेका प्रकास जोशी, सदाम अन्सारी र वीरेन्द्र सिंहलाई सो लागुऔषध गुप्ताले बेचेकोसम्म प्रहरीले पत्ता लगाएपछि उनीहरु पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुको कारोबारमाथि थप अनुसन्धान गरिरहेको छ।