PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

इपिएल टी २० क्रिकेट : वारियर्सको दोस्रो जित, राइनोज ७ विकेटले पराजित



पहिलोपोस्ट

इपिएल टी २० क्रिकेट : वारियर्सको दोस्रो जित, राइनोज ७ विकेटले पराजित

काठमाडौं : विशाल वारिसर्यले राजधानीमा जारी वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेटमा लगातार दोस्रो जित हात गरेको छ।
 
बुधबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको वारियर्सले शक्ति गौचनको जगदम्बा राइनोजलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ। वर्षाका कारण १६ ओभरमा छोट्याइएको खेलमा राइनोजले दिएको १११ रनको लक्ष्य वारिसर्यले १५ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो।
 
वारिसर्यलाई सहज जित दिलाउन कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै अर्धशतक बनाए। ३८ बल खेलेका पारसले ७ चौका र २ छक्काको मद्दतमा नटआउट ५६ रन बनाए। तेस्रो विकेटका लागि पारसले सागर पुनसँग ८५ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए। सागर पुनले २३ तथा परेश लोहनीले १३ रन जोडे। मन्जित श्रेष्ठ ८ रनमा नटआउट रहे। बलिङतर्फ राइनोजका साह आलमले २ तथा शक्ति गौचनले १ विकेट लिए।
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राइनोजले १६ ओभरमा ११० रन बनाएको थियो। राइनोजका लागि अमित श्रेष्ठले सर्वाधिक ३९ रन बनाए भने प्रेम तामाङले २६ रन जोडे।
 
यस्तै सुबेन्द्र पाण्डेले १२ तथा महेश क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ वारिसर्यका रामनरेश गिरीले ३ विकेट लिए भने सुशन भारी र दिपेश खत्रीले समान १/१ विकेट झारे।
 
जितपछि ३ खेलबाट ५ अंक जोडेको वारिसर्य अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ र उसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ।
 
उद्घाटन खेलमा गोर्खाजसँग अंक बाँडेको वारिसर्यले आफ्नो दोस्रो खेलमा सगरमाथा लेजेण्ड्सलाई पराजित गरेको थियो।
 
यता राइनोजले खेलेका ३ मध्ये यो दोस्रो हार हो। पहिलो खेलमा तेजसँग हारेको राइनोजले दोस्रो खेलमा गोर्खाजलाई पराजित गरेको थियो।
 
इपिएल अन्तर्गत बिहीबार एक्स फ्याक्टर र गोर्खाज तथा तेज र लेजेण्ड्सबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell