
काठमाडौं : संरक्षकभूषण बज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन्। ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार सम्पन्न पुरुष सिंगल्स फाइनलमा संरक्षकले पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै कमल भण्डारीलाई २-१ को सेटमा हराए।
३ घन्टा १५ मिनेट चलेको खेलमा संरक्षकले पूर्व नेपाल नम्बर वान भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे। सन्तोष खत्री र नवीन पुन तेस्रो भए।
ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा मायांकाले इरा रावतलाई ६–७, ६–२ र ६–३ को सेटमा हराइन्। उक्त फाइनल ३ घन्टा ५ मिनेट चलेको थियो।
मायांकाले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन्। मायांकाले जुम्ल्याहा बहिनी माहिकासंग मिलेर महिला डबल्सको उपाधि पनि हात पारिन्। महिला डबल्समा विभूति कार्की र विजिशा श्रेष्ठको जोडी तेस्रो भए।
पुरुष सिंगल्समा पराजित भएपनि कमल भण्डारी श्रीराम मगरसँग मिलेर पुरुष डबल्समा पहिलो भए। संरक्षकभूषण बज्राचार्य र महेश श्रेष्ठको जोडी दोस्रो भए भने सन्तोष खत्री र आत्माराम कार्की तथा शक्ति शर्मा र अनिल शाहीको जोडी तेस्रो स्थानमा रहे।
कुल १ लाख ६० हजार नगद पुरस्कार रहेको प्रतियोगिताका प्रत्येक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुने खेलाडीले ५–५ हजार प्राप्त गरे।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल, अखिल नेपाल लनटेनिस संघका सदस्य समेत रहेका आयोजक ललितपुर जिल्ला लनटेनिस संघका अध्यक्ष कार्की लगायतले पुरस्कार प्रदान गरे। पाँचदिने प्रतियोगितामा विभिन्न ४ स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
सोही अवसरमा विभिन्न विद्यालय र क्लब गरी १६ संस्थालाई जुनियर टेनिसको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) बाट प्राप्त र्याकेट र बल हस्तान्तरण गरिएको थियो। लनटेनिस संघका केन्द्रीय महासचिव मनोहरदास मुलले सामग्री हस्तान्तरण गरे।