
काठमाडौँ : सरकारले बजेटसँग सम्बन्धित तीन आश्रित विधेयक पुन: संसदमा पेश हुने भएको छ। यसअघि गत साउन ७ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले विधेयक प्रस्तुत गर्दा अस्वीकृत भएको थियो।
संविधानले जेठ १५ गते बजेट ल्याएको थियो। बजेटको खर्च सम्बन्धि अख्तियारी दिने मूल विधेयक विनियोजन विधेयक असार २५ गते पारित भएको थियो। तर सँगै पेश भएका अन्य तीन आश्रित विधेयक अस्वीकृत भएका थिए।
आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ बहुमतले अस्वीकृत भएको थियो। त्यतिबेला अस्वीकृत भएका विधेयकहरु नयाँ सरकारले बिहीबार संसदमा पेश गर्न लागेको हो।
नेकपा माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेतले आश्रित विधेयक पेशका लागि सहजता प्रदान गर्न बिहीबार नियम निलम्बनको प्रस्ताव पेश गर्दैछन्। नियम निलम्बनपछि दसैँ अघि नै पास गर्ने गरि आश्रित विधेयक संसदमा पेश हुनेछन्।
नेकपा माओवादी केन्द्रका सचेतक बस्नेतले नियम निलम्बन गरेर विधेयक दसैं अगाडि पारित गर्ने तयारी भइरहेको जानकारी दिए।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले पनि विधेयक पेश गर्ने तयारी सरकारले गरेको बुझिएको बताए। उनले एमालेले विधेयकको विषयमा कुर्सी टेबल तोडफोड गर्ने शैलीको विरोध नगरे पनि नियम र प्रक्रियाको विषय उठाउने बताए।
आश्रित विधेयकहरुमा हेरफेर भएको खण्डमा भने एमालेले अन्य कदम चाल्न सक्ने चेतावनी ढकालले दिए।
एमाले र माओवादी संयुक्त सरकारले तयार गरेको बजेट सदनमा पेश भएपछि विनियोजन विधेयक पारित गर्न माओवादीले साथ दिएको थियो।
तर अविश्वासको प्रस्ताव संसदमा पेश गरेको माओवादी केन्द्रले विनियोजन विधेयकका आश्रित विधेयकको विपक्षमा मतदान गरेको थियो।