सुरुङ्गा (झापा) : औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बिनादर्ता सञ्चालन गरिएका औषधि पलसमा सिल गरेको छ।
विभागका प्रमुख डा शम्भु साह र जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईको टोलीले बिर्तामोडमा सञ्चालित नवदुर्गा फार्मेसीमा सिलबन्दी गरेको हो।
अनुगमनका क्रममा पसल सञ्चालनका लागि आवश्यक पर्ने कागजात देखाउन नसकेको र नेपालमा प्रतिबन्धित औषधिको खुलेआम बिक्री वितरण भइरहेको पाइएपछि औषधि जफत गर्दै पसलमा सिल गरिएको हो।
त्यस्तै, महानन्द चौकमा बन्दना खनालले सञ्चालन गर्दै आएको प्रगति औषधि पसल पनि बन्द गरिएको छ। उक्त औषधि पसल बिनादर्ता सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले बन्द गरिदिएको अनुगमन टोलीका सदस्य भट्टराईले जानकारी दिए।
शनिश्चरेमा रहेको भट्टराई मेडिकल हल पनि अनुगमन टोलीले बन्द गरिदिएको छ। डिल्ली दाहालले सञ्चालन गरेको उक्त पसल दर्ता गर्न बाँकी रहेको र ठाउँ सारी नगरी सञ्चालन गरेको पाइएपछि बन्द गरिएको हो।
त्यस्तै पर्शुराम गिरीले इँटाभट्टामा सञ्चालन गरेको रश्मिका औषधि पसलमा मनोदीपक औषधि बेच्ने गरेको पाइएको र सोही ठाउँमा अनरेश सरदारले सञ्चालन गरेको गौतम मेडिकल हल विना दर्ता सञ्चालन भएका पाइएकाले बन्द गरिएको छ।
गौतम मेडिकल हलमा अनुगमन टोली पुगेपछि पसल सञ्चालक बिरामीलाई सलाइन लगाउँदा लगाउँदै भागेका थिए। सो पसल सत्य नारायण साहको नाममा दर्ता रहेको बताइएको छ।
यता ग्रेस खड्काले बुट्टाबारीमा सञ्चालन गर्दैआएको ग्रेस भेराइटिजमा औषधि र कस्मेटिकका सामान एकै ठाउँमा राखिएकाले त्यस्तो नगर्न सुझाव दिँदै आगामी दिनमा त्यस्तो पाइए कारबाही गरिने चेतावनी दिइएको थियो। बिञ्जु फार्मेसी बिर्तामोडलाई पनि सचेत गराइएको छ।