PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

थ्रीस्टार सिक्किम युनाइटेडलाई हराउँदै फाइनलमा, उपाधि भिडन्त इस्ट बंगालसँग



पहिलोपोस्ट

थ्रीस्टार सिक्किम युनाइटेडलाई हराउँदै फाइनलमा, उपाधि भिडन्त इस्ट बंगालसँग

काठमाडौं : नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टार क्लब भारतको गुवाहाटीमा जारी ६४अौ‌ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

गुवाहाटीस्थित नेहरु स्टेडियममा बुधबार बेलुका सम्पन्न पहिलो सेमिफाइनलमा  थ्री स्टारले घरेलु टोली सिक्किम युनाइटेडलाई अतिरिक्त समयमा ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो। निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

अतिरिक्त समयमा थ्री स्टारले थप तीन गोल गर्दै फराकिलो जित निकाल्यो। थ्री स्टारका लागि अफ्रिकी खेलाडी मार्टिनले दुई तथा विजय गुरुङ र विजय धिमालले १-१ गोल गरे। 

खेलको ६८औँ मिनेटमा मार्टिनले एक्लो प्रयासमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। जित नजिक पुगेको थ्री स्टारको रक्षापङ्क्तिको गल्तीको फाइदा उठाउँदै खेल सकिन २ मिनेटअघि सिक्किमका सोनाम छिरिङले बराबरी गोल फर्काए। 

३० मिनेटको अतिरिक्त समयको खेल थ्री स्टारले पूर्ण रुपमा आफ्नो पक्षमा राख्यो। खेल सुरु भएको पाचौं मिनेटमै मार्टिनले गोल गर्दै पुनः थ्री स्टारलाई अग्रता दिलाए। 

त्यसको ६ मिनेटपछि सिक्किमका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा विजय धिमालले गोल गरे। अतिरिक्त समयको अन्तिम मिनेटमा सुनिल बलको क्रसलाई उपयोग गर्दै विजय गुरुङले थ्री स्टारका लागि चौथो गोल थपे। 

उपाधि भिडन्तका लागि फाइनलमा अब थ्री स्टारले भारतको इस्ट बङ्गालसँग शुक्रबार प्रतिस्पर्धा गर्ने  छ। बुधबार नै भएको दोस्रो सेमिफाइनलमा इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टारसँग उपाधि भिडन्त पक्का गरेको हो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell