भक्तपुर : राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापरबाहीले सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताएका छन्।
रफत सञ्चार क्लबले गरेको अन्तरक्रियामा उनले उद्योगीको लापरबाही र नियमनकारी निकायको तदारुकताको अभावकै कारण दुर्घटना बढेको बताए। पुराना ग्यास सिलिन्डर बजारमा लैजाने, ग्यास चुहावट भएकै सिलिन्डर बजारमा पठाउने, उद्योगीले बेलाबेलामा सिलिन्डरको पुनः परीक्षण नगर्ने तथा सिलिन्डरको निर्माणमा लापरबाही गर्दा उपभोक्ताले दुर्घटना मोल्नुपरेको उनको भनाइ छ।
उपभोक्तालाई ग्यासको प्रयोगमा सचेत गराउने र खराब उद्योगीलाई कारबाही गर्न सरकारले उदासीनता देखाउँदा उपभोक्ताले ज्यान गुमाउनुपरिरहेको उनले बताए।
कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले कच्चा ग्यास सिलिन्डरको कारण दुर्घटना भई ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिनेभन्दा पनि उल्टो शक्तिको आडमा त्रास थपिदिएको घटना भक्तपुरमै घटेको बताएका छन्। उनले उद्योगीको गल्तीका कारण आमगृहिणीले ज्यान गुमाउनुपरेको र सरोकारवालाले नियमन गर्न नसक्दा ग्यास सिलिन्डरमा त्रुटि देखिएको प्रस्ट पारे।
कार्यक्रममा एलपी ग्यास सिलिन्डर पड्कँदा ज्यान गुमाएका भक्तपुर पलाँसेका मृतकका भाइ सबिन महतले एलपी ग्यास सिलिन्डरको त्रुटिकै कारण आफ्नो दाइले ज्यान गुमाउनुपरेको भन्दै दुखेको पोखे। कम्पनीले सिकिस्त घाइते भएकी भाउजूको उपचार खर्चसमेत उपलब्ध नगराएको बताउँदै न्याय माग्ने ठाउँमा समेत न्याय पाउन नसकेकाले उपभोक्ता मञ्चलाई पहल गरिदिन उनले आग्रह गरेका छन्।रासस