PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

प्रहरीले खुलाए पनि बिपी राजमार्गमा गाडी चलेनन्, १५ गतेयता नचलाउने व्यवसायीको अडान



पहिलोपोस्ट

प्रहरीले खुलाए पनि बिपी राजमार्गमा गाडी चलेनन्, १५ गतेयता नचलाउने व्यवसायीको अडान

काठमाडौं : बुधबार दिनभर बन्द रहेको बिपी राजमार्ग साँझबाट खुले पनि एकाधबाहेक गाडीहरु चल्न सकिरहेका छैनन्। अहिले काठमाडौंदेखि फुर्कोटसम्म मात्र गाडी चलिरहेका छन् भने फुर्कोटउता रुट परमिट नपाएर गाडीहरु चल्न नपाएको व्यवसायी बताउँछन्।
 
सरकारले रुट परमिट नदिएको भन्दै व्यवसायीले बन्द गराएको राजमार्ग प्रहरीले खुलाएको थियो।
 
रुट परमिट नदिएको भन्दै बुधबार व्यवसायीले राजमार्ग बन्द गराएपछि सरकारले दसैंका लागि पटके रुट परमिटको सुविधा दिने निर्णय गर्‍यो।
 
पन्ध्र गतेदेखि मात्र पटके रुट परमिट लागू हुने भएकाले त्यो समयभन्दा अगाडि अस्थायी रुट परमिट नपाएका गाडी चलाउन नमिलेको व्यवसायीको गुनासो छ।
 
अधिकांश गाडी रुट परमिट नपाएका कारण चल्न नसकेको बिपी यातायात सेवा समितिमा अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए। दसैंका लागि दिने भनिएको पटके रुट परमिट पनि १५ गतेदेखि मात्र लागू हुने भएपछि त्यसअगाडि गाडी चलाउन सम्भव नरहेको उनले बताए।
 
'सीमित संख्याका गाडीले मात्र रुट परमिट पाएका छन्,' श्रेष्ठले भने, '१५ गते शनिबार परेकाले सरकारी कार्यालय बिदा हुन्छ, त्यसैले आइतबारदेखि मात्र गाडी चल्नेछ '
 
बुधबार व्यवसायीको दवाबमा सरकारले पटके रुट परमिट दिने निर्णय गर्‍यो। शनिबारदेखि मात्रै पटके रुट परमिट लागू हुने भएकाले गाडी चल्न नसकेको समितिका अध्यक्ष श्रेष्ठले बताए। श्रेष्ठका अनुसार आज काठमाडौंदेखि जनकपुरसम्म रुट परमिट पाएका ३० वटा सुमो मात्र सञ्चालनमा छन्। बाँकी दुई सय वटा गाडी परमिट नपाएपछि फुर्कोटमा राखिएको उनले जानकारी दिए।
 
दसैंको मुखमा राजमार्ग बन्दा हुँदा सिन्धुली हुँदै पूर्व जाने यात्रुहरु मारमा परेका छन्। गाडी नचल्दा उदयपुर, झापा, मोरङ लगायतका स्थानबाट काठमाडौं हिँडेका यात्रु सिन्धुलीमा रोकिएका छन्।
 
मङ्गलबार सरकारले अस्थायी रुट परमिट दिने निर्णय गरे पनि धादिङमा भएको दुर्घटनापछि निर्णय परिवर्तन गरेको भन्दै व्यवसायीले बन्द गराएका थिए।
 
सिन्धुलीका बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायात लगायतका जिल्लाका झन्डै एक दर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बिपी राजमार्ग अवरुद्ध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell