PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्ने निर्णय



मनोज सत्याल

मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्ने निर्णय

काठमाडौं : आज बसेको मन्त्रिपरिषद बैठकले संसदीय समितिमा विचाराधीन अवस्थामा रहेको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता स्वर्गीय मनमोहन अधिकारीको नाममा सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरुदेखि नै विवादमा रहँदै आएको छ। चर्को विवादबीच संसदमा पेश भएको यो विधेयक संसदकै महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिमा विचाराधीन अवस्थामा छ।

आजको बैठकको निर्णयबारे जानकारी दिँदै स्वास्थ्य मन्त्री गगन थापाले विधेयक फिर्ता लिने प्रकृया अगाडि बढाउने निर्णय भएको बताए।
यसैगरी बैठकले चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स) को नामका अगाडि पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाम राख्ने निर्णय गरेको छ। अधिकारीको नाम समावेश गर्न न्याम्सको विधेयकसमेत संशोधनका लागि संसदमा लैजाने निर्णय मन्त्रिपरिषदले गरेको छ।

सरकारले विधेयक फिर्ता गर्ने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने विरोध जनाउँदै आएको छ। पार्टीको गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित गर्न माग गरेको थियो।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट मनमोहन मेडिकल कलेजलाइ सम्बन्धन पाउने नदेखेपछि केपी ओली नेतृत्वको सरकारले प्रतिष्ठान बनाउन विधेयक ल्याएको थियो। आइओएमबाट मेडिकल कलेज सञ्चालनको आशयपत्र पाएपनि मेडिकल कलेजको सम्बन्धन पाउन सकेको थिएन।

सरकारले विधेयक ल्याएपछि त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले यसविरुद्ध अभियान नै छेडेका थिए। उनको अभियानलाई धेरैतिरबाट समर्थनसमेत मिलेको थियो। केसीको अनसन र अन्य दवावका कारण विधेयक अघि बढ्न सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell