PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

तेस्रो हारसँगै गोर्खाजको इपिएल यात्रा समाप्त, अन्तिम खेलमा एक्स फ्याक्टरसँग १५ रनले पराजित



पहिलोपोस्ट

तेस्रो हारसँगै गोर्खाजको इपिएल यात्रा समाप्त, अन्तिम खेलमा एक्स फ्याक्टरसँग १५ रनले पराजित

काठमाडौं : कान्तिपुर गोर्खाजले वाइवाइ एभरेस्ट प्रिमियर लिगमा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्‍यो। तर ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा उसले खेलेका ४ मध्ये ३ खेलमा पराजित हुँदै राजधानीमा जारी इपिएल टी २० क्रिकेटको फाइनल पुग्न असफल बन्यो।
 
६ टिम सहभागी प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा कलर्स एक्स फ्याक्टरसँग १५ रनले पराजित हुँदै गोर्खाज प्रतियोगिताबाट बाहिरियो।
 
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा १२४ रनको सामान्य लक्ष्य पछ्याएको गोर्खाजले १०९ रन मात्र बनाउन सक्यो। यसअघिका २ खेलमा पनि गोर्खाजले सामान्य लक्ष्य भेट्टाउन नसक्दा हार बेहोरेको थियो।
 
वर्षाका कारण उद्घाटन खेल नै रद्द बनेपछि विशाल वारिसर्यसँग १-१ अंक बाँड्दै प्रतियोगिताको सुरुवात गरेको गोर्खाजले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सगरमाथा लेजेण्ड्सलाई ७ विकेटले हराएको थियो। त्यसपछि भने गोर्खाज जगदम्बा राइनोज, पञ्चकन्या तेज र एक्स फ्याक्टरसँग पराजित भयो।
  
तीन वटै खेलमा गोर्खाजका खेलाडीको ब्याट सोचेअनुरुप चल्न सकेन। एक्स फ्याक्टरसँगको अन्तिम खेलमा गोर्खाजका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सकेनन्। ओपनर प्रदीप ऐरीले बनाएको ३१ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। यस्तै अन्तिम थापाले ३० तथा कप्तान बसन्त रेग्मीले २५ रन बनाए। गोर्खाजका सन्दीप जोहरा र सन्तोष भट्ट समान ३ रन, ओपनर सुवास खकुरेल २ रनमा आउट भए भने अनिल शाहले खाता समेत खोल्न सकेनन्।
 
बलिङतर्फ एक्स फ्याक्टरका अमरसिंह रतौलाले सर्वाधिक ३ विकेट लिए। यस्तै अभिनाश कर्णले २ तथा हरिशंकर शाह र योगोन्द्रसिंह कार्कीले १/१ विकेट लिए। कसिलो बलिङ गरेका हरिशंकरले ४ ओभरमा १ मेडन राख्दै मात्र ८ रन दिए।
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एक्स फ्याक्टरले २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन बनाएको थियो। एक्स फ्याक्टरका योगेन्द्रसिंह कार्कीले ३० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ले २० रनको योगदान गरे। यस्तै राजेश पुलामी मगरले १७,  हरिशंकर शाहले १२ तथा सिद्धान्त लोहनीले १० रन जोडे भने अमरसिंह रतौला १६ रनमा नटआउट रहे।
 
बलिङतर्फ गोर्खाजका ललितसिंह भण्डारी र कप्तान बसन्त रेग्मीले २/२ विकेट लिए भने ललित नाथ राजवंशी र आकाश विष्टले १/१ विकेट झारे।
 
इपिएल अन्तर्गत बिहीबारै दोस्रो खेलमा शीर्ष स्थानको पञ्चकन्या तेजले सगरमाथा लेजेण्ड्ससँग खेल्दैछ। लगातार ३ खेल जितेको तेज ६ अंकका साथ शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell