PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

आफैँले रोकेका विधेयक संसदमा पेश, एमालेले गर्‍यो आलोचना



पहिलोपोस्ट

आफैँले रोकेका विधेयक संसदमा पेश, एमालेले गर्‍यो आलोचना

काठमाडौं : सरकारले संसदमा बजेटका तीन आश्रित विधेयक पेश गरेको छ। अर्थमन्त्री कृष्णबहादुर महराले एमाले सरकारले ल्याएको आश्रित विधेयक नै बिहीबारको संसद बैठकमा पेश गरेका हुन्।

त्यसअघि संसदको पहिलो बैठक मार्फत् आश्रित विधेयक पेश गर्न नियम निलम्बन गरिएको थियो। संसदको नियमावलीमा एक पटक बैठकबाट अस्वीकृत भएको विधेयक सोही अधिवेशनमा पुन: प्रस्तुत गर्न नमिल्ने व्यवस्था छ। नियमावली निलम्बनको बहुमतले स्वीकृत भएको थियो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निलम्बनको विपक्षमा मत दिएको थियो।

अर्थमन्त्री महराले विगतमा असहमतिका कारण पास हुन नसकेको विधेयक कुनै परिवर्तन नगरी ल्याइएको संसदमा जानकारी गराएका थिए। यसअघि प्रधानमन्त्री केपी ओलीको अविश्वास प्रस्ताव माथिको छलफल अघि ती विधेयक निर्णयार्थ पेश हुनुअघि महराले विपक्षमा मतदान गर्ने घोषणा गरेका थिए।

उनले अहिले विधेयक संसदमा पेश गर्न शीर्ष राजनीतिक नेतृत्वमा सहमति भएकोमा आभार प्रकट गरे। साथै नियम निलम्बन गरी सहयोग गरेकोमा सभामुखलाई समेत धन्यवाद दिए।

महराले खर्च गर्ने विधेयक पारित भइसकेको अवस्थामा आवश्यकता अनुसार अहिलेको विधेयक ल्याइएको बताए।

बिहीबार नै मन्त्रिपरिषदबाट पारित भएको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक सरकारले संसदमा प्रस्तुत गरेको हो।

संसदले तीनै विधेयक अर्को बैठकमा पारित गर्ने भएको छ। विधेयक माथिको छलफलको क्रममा एमाले सांसदहरुले भने माओवादीको कडा आलोचना गरे।

एमाले सांसद रविन्द्र अधिरकीले विश्वमै नभएको प्रचलन सुरु गरेको भन्दै कसकसलाई बधाई दिनुपर्ने हो भन्दै व्यङ्ग्य गरे। 'यो नौटंकी संसदको इतिहासमा भारी पर्नेछ,' अधिकारीले भने।

पूर्व अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले भने तर्कका आधारमा नभई आग्रहको आधारमा विधेयक विगतमा अस्वीकृत गरिएको आरोप लगाए। 'सच्चाई ढिलो भए पनि स्वीकार गरिएको छ,' पौडेलले भने।

एमालेका सांसद अग्नि खरेलले शब्दकोशबाट लाज भन्ने शब्द हटाउनुपर्ने बताए।

एमाले र माओवादी सरकारले ल्याएको विनियोजन विधेयक पारित भएपनि आश्रित विधेयक पास गर्ने बेलामा भने माओवादीले विपक्षमा मतदान गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell