
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि दलीय आग्रह नराखी जारी संविधानलाई कार्यान्वयनमा सहयोग गर्न आम सञ्चार क्षेत्रसँग आग्रह गरेका छन्।
प्रेस सेन्टर, नेपालको प्रथम राष्ट्रिय एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने – “संविधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई एकताबद्ध गर्ने भूमिका खेल्न प्रेस जगत्लाई अपिल गर्न चाहन्छु।”
उनले संविधानमार्फत सिङ्गो मुलुकलाई एकताबद्ध र मजबुत गर्न आफूले चाहेको बताउँदै भने – “कुनै राजनीतिक आग्रह र पूर्वाग्रहका कारण राष्ट्रिय एकता बिथोलिने भएमा प्रेसले त्यसमा सकारात्मक भूमिका खेल्नुपर्छ।”
प्रेसले आगामी १८ महिनाभित्र तीन चरणको निर्वाचन गर्ने कार्यलाई सघाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।
भूकम्पपछिको पुनःनिर्माण कार्यलाई पनि द्रुत गतिमा लैजान सरकारले पहल गरिरहेको उल्लेख गर्दै उनले पुनःनिर्माणका साथै अन्य विकास निर्माणका काममा पनि प्रेसको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे।
प्रजातन्त्रको पुनर्बहाली र गणतान्त्रिक आन्दोलनमा पे्रसले खेलेको भूमिका सराहनीय भएको पनि उनले बताए।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रवजीवी पत्रकारको मुद्दालाई आफूले सम्बोधन गर्ने वचनबद्धता प्रकट गर्दै उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्ने बताए। उनले भने – “तोकिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक हामी कार्यान्वयन गर्छौं।”
उनले पत्रकारले खवरदारी नगरेमा लामो सङ्घर्षबाट प्राप्त उपलब्धि प्रजातान्त्रिक गणतन्त्र खतरामा पर्ने भन्दै त्यसका लागि सिर्जनशील आलोचना आवश्यक हुने बताए।
सत्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न र सामान्य विषयलाई अनावश्यक रुपमा प्रचार नगर्न उहाँले प्रेससँग आग्रह गरे।
फोटो : प्रदीपराज वन्त/रासस