PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

लगातार चौथो जितसँगै तेज इपिएलको फाइनलमा



पहिलोपोस्ट

लगातार चौथो जितसँगै तेज इपिएलको फाइनलमा

काठमाडौं : पञ्चकन्या तेज लगातार चौथो जित हात पार्दै राजधानीमा जारी वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
 
प्रतियोगितामा अपराजित यात्रा कायय राख्ने क्रममा तेजले सगरमाथा लेजेण्ड्सलाई ५० रनले हरायो।
 
तेजले दिएको १८७ रनको विशाल लक्ष्य पछ्याएको लेजेण्ड्स १७.४ ओभरमा १३६ रनमै अलआउट भएपछि प्रतियोगिताको सबैभन्दा फराकिलो रन अन्तरको हार बेहोरेको हो। तेजले लगातार चौथो जित हात पार्दा लेजेण्ड्सको भने यो लगातार चौथो हार हो।
 
कीर्तिपुरस्थित त्रिवि मैदानमा लेजेण्ड्सलका कुनै पनि खेलाडीले उच्च स्कोर गर्न सकेनन्। नियमित अन्तरमा विकेट झरेपछि लेजेण्ड्सका खेलाडीले पूरै २० ओभर समेत खेल्न सकेन। उसका मेहवुव आलमले सर्वाधिक २३ रन बनाए भने पछिल्लो क्रममा ब्याटिङ गरेका राहुकुमार विक र चन्द्र साउदले समान २२ रन बनाए।
 
ओपनर सुनिल धमलालो १८ र विकेटकिपर दीलिप नाथले १४ रन जोडे। यसबाहेक लेजेण्ड्सका अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
 
लेजेण्ड्सलाई अलआउट गर्न तेजका कप्तान शरद भेषावकर र सुशील कँडेलले समान ३/३ विकेट लिए भने आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, पुष्प थापा र कुशल भुर्तेलले समान १/१ विकेट लिए।
 
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको तेजले करण केसीको अर्धशतकको मद्दतमा १८६ रन बनायो। तेस्रो नम्बरमै ब्याटिङ गर्न पुगेका करणले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाए। जारी इपिएलमा पहिलो पटक ओपनिङ ब्याटिङ गरेका कप्तान शरदले ३० रन बनाए। यस्तै बिस्फोटक ब्याटिङ गरेका कुशल भुर्तेलले ९ बलमा १ चौका र २ छक्काको मद्दतमा २२ रन बनाए। सोनु तामाङले १७ रन बनाए। पृथु बास्कोटा ३८ रनमा नटआउट रहे। २१ बल खेलेका पृथुले समान २ चौका र छक्का प्रहार गरे। दीपेन्द्र ऐरी ११ रनमा नटआउट रहे। अघिल्ला खेलहरुम उत्कृष्ट प्रदर्शन गरेका तेजका ओपनर आसिफ शेख भने ३ रनमै आउट भए।
 
बलिङतर्फ लेजेण्ड्सका विक्रम सोबले २ तथा चन्द्र सावद, मेहवुव आलम र राहुल विश्वकर्माले १/१ विकेट हात पारे।
 
प्रतियोगिता अन्तर्गत तेजले शुक्रबार अर्को अपराजित टिम विशाल वारिसर्यसँग आफ्नो अन्तिम खेल खेल्नेछ। पारस खड्काको नेतृत्वमा रहेको वारियर्सले ३ खेलबाट ५ अंक जोडेको छ र दोस्रो स्थानमा छ। शुक्रबारै जगदम्बा राइनोज  र कलर्स एक्स फ्याक्टरबीचको खेल पनि हुनेछ। राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell