PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

१ लाख चोरेपछि घरधनीलाई चिठी : आइ एम सरी



पहिलोपोस्ट

मोरङ : सधैंझैं मोरङ इटहरा-७ मा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा बिहानै एक कर्मचारी पुग्छन्। जब उनी विद्यालयको दोस्रो तलामा रहेको लेखा शाखाको ढोका खोल्न खोज्छन्, झसङ्ग हुन्छन्।
 
उनले खोल्नुअघि नै ढोका खुलिसकेको हुन्छ। त्यसपछि डर र आशंकामा रुमल्लिँदै उनी ढोका ठेल्दै भित्र पस्छन्। भित्र कोठामा पुग्दा कोही पनि उपस्थित हुँदैनन्।
 
उनको आँखा लेखा शाखामा रहेको स्टिलको दराजमा पुग्छ। दराजमा अघिल्लो दिन मात्र शिक्षकहरुलाई दिन निजी स्रोतबाट जुटाइएको १ लाख २० हजार रुपैयाँ राखिएको हुन्छ। त्यही दराजको ताल्चा तोडिएको देखेपछि उनको निधारमा चिटचिट पसिना आउँछ।
 
उनी आत्तिन्छन्। त्यतिन्जेलमा अरु कर्मचारी आइसकेका हुन्छन्। सबै भेला भएर हेर्दा दराजभित्र राखिएको १ लाख २० हजार गायब हुन्छ। तर, टेबलमै  राखिएको ल्यापटप जहाँको त्यहीँ हुँदा भने उनीहरु आश्चर्यमा पर्छन्। पैसा चोरीको शंका पाएपछि उनीहरुको ध्यान प्रहरीतिर मोडिन्छ र तत्काल खबर गर्छन्।
 
केही बेरमै चौकीबाट प्रहरीहरु घटनास्थल पुग्छन्। घटनास्थलको प्रकृति हेर्दा उनीहरुले सबैलाई अचम्मित बनाउने खालको सबुत भेट्टाउँछन्।
 
लेखा शाखाको टेबलमाथि राखिएको मार्कसिटको बन्डलमा केही लेखेर राखिएको चिर्कटो फेला पर्छ। त्यहाँ नबुझिने अक्षरमा लेखिएको हुन्छ-

सर, मेरो आमा बिरामी छ। दुई वर्षमा पैसा फिर्ता गर्छु। सरी सर।
 
प्रहरीले यो बाहेक अरु कुनै सबुत प्रमाण घटनास्थलमा फेला पार्न सक्दैन।
 
'विद्यालयको बारेमा राम्रोसँग बुझेकाले नै चोरी गरेको हुनुपर्छ,' प्रहरी निरीक्षक हेम खड्का भन्छन्, 'हामी सम्भावित क्षेत्रमा अनुसन्धान र खोजी गरिहेका छौं।'
 
प्रहरीले चोरी भएको विद्यालय वरपर ११ बजेसम्म गस्ती गरिरहेको थियो। त्यही मंगलबार रात १२ बजेपछि चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ। (प्रतीकात्मक फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell