PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

२०७४ माघ ८ अघि चुनाव नभए परिस्थिति शून्यमा पुग्छ, सबैले सोच्नुहोस् : मन्त्री निधि



पहिलोपोस्ट

२०७४ माघ ८ अघि चुनाव नभए परिस्थिति शून्यमा पुग्छ, सबैले सोच्नुहोस् : मन्त्री निधि

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले ०७४ माघ ८ भित्र चुनाव हुन नसके परिस्थिति शून्यमा पुग्ने बताएका छन्।
 
नेपाली कांग्रेसको सशस्त्र आन्दोलनका समयमा तात्कालीन शासकले गोली ठोकेर ०३१ सालमा मारिएका ओखलढुंगाका चार सहिदको ४२औं स्मृति दिवसको कार्यक्रममा बोल्दै निधिले परिस्थिति बिग्रन नदिन राजनीतिक दल मात्र नभएर जनता पनि लाग्नुपर्ने बताए।
 
'लीलानाथ, ठगीराज, खगेन्द्र र गोकर्ण सहिदहरुले युवा अवस्थामै आफूलाई बलिदान गरेको भाग दुई अर्थात् गणतन्त्रमा हामी छौं,' निधिले भने, 'यसलाई संस्थागत गर्न ०७४ माघ ८ भित्र तीन तहको निर्वाचन गराइसक्नुपर्छ। त्यसका लागि राजनीतिक दल मात्र होइन जनता पनि सचेत भएर वातावरण निर्माणमा लाग्नुपर्छ।' उनले विगतमा जस्तो गल्ती गर्ने र सच्याउने छुट अब कसैलाई नभएको बताए।
 
'विगतमा संविधानसभाको म्याद सकिएर पनि राष्ट्रपतिले विघटन गर्नुपर्ने प्रावधान थियो तर अहिले ०७४ माघ ८ भित्र चुनाव हुन नसके संसद स्वतः निष्क्रिय हुन्छ,' निधिले भने, 'त्यति बेला राजनीति सच्याउन पनि नसक्ने गरी शून्यमा पुग्छ। सबैले सोच्नुहोस्।' उनले राजनीतिक दलले गर्लान् भनेर छोडे परिस्थिति बिग्रन सक्ने भन्दै सबैले सचेत भएर वातावरण निर्माणमा लाग्नुपर्ने बताए।
 
संविधान कार्यान्वयनका पक्षमा उभिनु हरेक नागरिकको कर्तव्य भएको भन्दै सबैलाई त्यसका पक्षमा उभिएर परिर्तनलाई संस्थागत गर्न आवश्यक भएको मन्त्री निधिको भनाइ थियो। 'कहिलेकाहीँ कतिपय दल र तिनका नेताहरु निहित स्वार्थमा पनि हिँड्न सक्छन्। देशको भलो नहेरेर पार्टीको भविष्य मात्र पनि हेर्न सक्छन्,' निधिले भने, 'त्यस्तो परिस्थितिको व्यवस्थापन पनि जनता सचेत भए सहज हुन्छ।'
 
उनले अहिलेको परिस्थिति व्यस्थापन भए भोलिको पुस्ताले यो पुस्ताको नाम स्वर्णाक्षरमा पढ्ने भए पनि त्यसो हुन नसके बदनाम हुनुपर्ने बताए। 'यदि यो परिवर्तन व्यवस्थापन संस्थागत भएन भने इतिहासमा कलंकित हुनेछ हाम्रो पुस्ता अनि भोलिका हाम्रा सन्ततिले पनि धिक्कार्नेछन्,' उनले भने।
 
कार्यक्रममा चार सहिद लीलानाथ दाहाल, ठगिराज दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीका परिवारलाई सम्मान गरिएको थियो। कांग्रेसले पञ्चायतविरुद्ध सशस्त्र आन्दोलन थालेका बेला हतियार उठाएको आरोपमा पक्राउ परेका ओखलढुंङ्गाका चार युवालाई २०३१ भदौ १३ गते जेलबाट निकालेर नख्खु पुर्‍याई गोली ठोकी हत्या गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell