PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

सालिकमा माला चढाएपछि उपप्रम निधिले भने : ​२०७४ माघ ८ अघि चुनाव नभए परिस्थिति शून्य



पहिलोपोस्ट

सालिकमा माला चढाएपछि उपप्रम निधिले भने : ​२०७४ माघ ८ अघि चुनाव नभए परिस्थिति शून्य

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघ ८ भित्र चुनाव हुन नसके परिस्थिति शून्यमा पुग्ने बताएका छन्। नेपाली कांग्रेसले गरेको सशस्त्र आन्दोलनका क्रममा २०३१ सालमा मारिएका ओखलढुंगाका चार शहीदको ४२ औं स्मृति दिवसमा निधिले परिस्थिति बिग्रन नदिन राजनीतिक दलमात्र नभएर जनता पनि लाग्नुपर्ने बताए।

'लीलानाथ, ठगिराज, खगेन्द्र र गोकर्णजस्ता शहीदहरुले युवा अवस्थामै आफूलाई बलिदान गरे। अहिले हामी गणतन्त्रमा छौं,' निधिले भने,  'यसलाई संस्थागत गर्न २०७४ माघ ८ भित्र तीन तहको निर्वाचन गराइसक्नुपर्छ। त्यसका लागि राजनीतिक दलमात्र होइन जनता पनि सचेत भएर वातावरण निर्माणमा लाग्नुपर्छ।'

उनले विगतमा जस्तो गल्ती गर्ने र सच्याउने छुट अब नभएको बताए। 'विगतमा संविधानसभाको म्याद सकिएर पनि राष्ट्रपतिले विघटन गर्नुपर्ने प्रावधान थियो। तर अहिले २०७४ माघ ८ भित्र चुनाव हुन नसके संसद स्वतः निस्कृय हुन्छ,' निधिले भने, 'त्यतिबेला राजनीति सच्याउन पनि नसक्ने गरी शून्यमा पुग्छ। सबैले सोच्नुहोस्।'

उनले राजनीतिक दलले गर्लान् भनेर छोडे परिस्थिति बिग्रनसक्ने भन्दै सबैले सचेत भएर वातावरण निर्माणमा लाग्नुपर्ने बताए।

संविधान कार्यान्वयनका पक्षमा उभिनु हरेक नागरिकको कर्तव्य भएको भन्दै उनले परिवर्तनलाई संस्थागत गर्न आवश्यक भएको बताए।

'कहिलेकाहीँ कतिपय दलहरु र तिनका नेताहरु निहीत स्वार्थमा पनि हिड्न सक्छन्। देशको भलो नहेरेर पार्टीको भविष्यमात्र पनि हेर्न सक्छन्,' निधिले भने, 'त्यस्तो परिस्थितिको व्यवस्थापन जनता सचेत भए सहजरुपमा हुन्छ।'

उनले अहिलेको परिस्थिति व्यवस्थापन भए भोलिको पुस्ताले यो पुस्ताको नाम स्वर्णाक्षरमा पढ्ने बताए। त्यसो हुन नसके बद्नाम हुनुपर्ने दावी गरे।

'यदि यो परिवर्तन व्यवस्थापन संस्थागत भएन भने इतिहासमा कलंकित हुनेछ हाम्रो पुस्ता। अनि भोलिका हाम्रा सन्ततीले पनि हामीलाई धिकार्ने छन्,'  उनले भने।

कार्यक्रममा चार शहीद लिलानाथ दाहाल, ठगिराज दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीका परिवारलाई सम्मान गरिएको थियो। कांग्रेसले पञ्चायत विरुद्ध सशस्त्र आन्दोलन थालेका बेला हतियार उठाएको आरोपमा पक्राउ परेका ओखलढुङ्गाका चार युवा २०३१ साल भदौ १३ गते जेलबाट निकालेर नख्खु पुर्‍याएर गोली हानी मारिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell