PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

२२० केभी क्षमताको दाना-खुर्कोट प्रसारणलाइन निर्माण थालियो



पहिलोपोस्ट

बाबियाचौर (म्याग्दी) :  २२० केभी क्षमताको दाना–खुर्कोट विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ।
 
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको ३८ किलोमिटर विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माण सुरु गरेको हो। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत सबस्टेसन र प्रसारण लाइन निर्माण हुन लागेको जनाइएको छ।
 
२ अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभी कार्यक्षेत्रमा परिचालन भएको आयोजनाका इन्जिनियर यादव न्यौपानेले जानकारी दिए।
 
आयोजना र ठेकेदार कम्पनीबीच ३० मे २०१६ मा सम्झौता भएको थियो। २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछन्। १४ मेगावाट क्षमताको थापाखोला, चार मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन्।रासस
 
सबस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण भइसकेको इन्जिनियर न्यौपानेले बताए। सबस्टेसन र प्रसारण लाइनको टावर रहने स्थानको विस्तृत सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ। ठेकेदारले दसैंअघि नै पूर्वाधार निर्माणको काम सुरु गर्ने जनाएको छ। दानादेखि कुश्मासम्म एक सय १० वटा टावर रहनेछन्। यो लाइनको क्षमता एक हजार दुई सय मेगावाट रहेको छ।
 
नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको एक सय ४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भइरहेको छ।
 
कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। जलविद्युत् आयोजना निर्माणले तीव्र गति पाउने र लगानीकर्ता आकर्षित हुने आयोजनाका इन्जिनियर आनन्द सुवेदीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell