PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

एकै घरका तीन दाजुभाइ ९ वर्षदेखि पुर्पक्षका लागि थुनामै



पहिलोपोस्ट

एकै घरका तीन दाजुभाइ ९ वर्षदेखि पुर्पक्षका लागि थुनामै

  • गोपालप्रसाद बराल
बर्दिवास : सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्षभित्रै हुने अदालती तालिका भए पनि महोत्तरी जिल्लाको सुन्दरपुर-९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षका लागि थुनामै छन्।
 
आफ्नै गाउँका बिशेश्वर मण्डल हत्या प्रकरणमा प्रतिवादी बनाइएका एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार र वीरेन्द्र आफूविरुद्धको मुद्दा फैसला हुन नसक्दा नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्ष थुनामै कारागार बस्न बाध्य भएका हुन्।
 
दुई पक्षबीचको झगडाका क्रममा २०६४ जेठ २३ गते गाउँकै बिशेश्वर मण्डलको हत्या गरेको अभियोगमा पक्राउ परेर महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा कारागार पठाइएका तीनै दाजुभाइ सम्बन्धित मुद्दा फैसला हुन नसक्दा उनीहरुको थुना अवधि बढेको हो।
 
'घरका तीनै दाजुभाइ जेलमा बन्द छौं,' कारागारमा उनीहरुको मुद्दाबारे बुझ्न पुगेका सञ्चारकर्मीसँग रामदुलारले भने, 'मुद्दाबारे बुझिदिने कोही नहुँदा फैसला हुन नसकेको बारे केही बुझेका छैनौं।'
 
पुर्पक्ष थुनामा तीनै दाजुभाइ एकसाथ महोत्तरी कारागार पठाइएका भए पनि कान्छा वीरेन्द्रलाई केही महिनाअघि कारागार सरुवा गरी हाल सप्तरी कारागार राजविराजमा पठाइएको महोत्तरी कारागार प्रशासनले जनाएको छ। उनलाई ठाउँ अभावले कारागार सरुवा गरिएको महोत्तरी कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए।
 
यसैबीच, दुई वर्षमा टुङ्गिनुपर्ने मुद्दा नौ वर्षभन्दा बढी लम्बिनुमा मुद्दाबारे बीचमा भएका घटनाक्रम कारण बनेको महोत्तरी जिल्ला अदालतले जनाएको छ। यो मुद्दा फैसलाको अन्तिम चरणमा पुगेकै बेला २०६८ फागुन १५ गते मन्त्रिपरिषद्ले फिर्ता लिने निर्णय गरेसँगै तत्सम्बन्धी पत्र पाएपछि २०७० साल जेठ २३ गतेको निर्णयले मुल्तबी रहेको अदालतका स्रेस्तेदार जानकीरमण यादवले जानकारी दिए।
 
मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा परेको उजुरीबारे २०७२ पुस ३० गते संवैधानिक इजलासले फिर्ता लिन नमिल्ने निर्णय गरे पनि सोसम्बन्धी विस्तृत विवरण प्राप्त हुन नसक्दा मुद्दा मुल्तबीमै रहेकाले फैसला हुन नसकेको स्रेस्तेदार यादवको भनाइ छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell