PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

जेस्ट खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आइतबारदेखि



पहिलोपोस्ट

काठमाडौं : जेस्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा प्रथम जेस्ट खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। काठमाडौंको बसुन्धारस्थित नवनिर्मित एकेडेमीमा हुने प्रतियोगिता असोज २० गतेसम्म चल्नेछ।
 
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा ६ इभेन्ट समावेश गरिएको छ। जसमा पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स, यु–१५ पुरुष, मास्टर ३५ वर्ष भन्दामाथि र ४५ वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा हुनेछ।
 
एकेडेमीमा प्रशिक्षणका साथै नयाँ खेलाडी उत्पादनको लागि प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले बताए। नयाँ एकेडेमीमा अहिले खेलाडीहरुको प्रशिक्षण पनि सुरु भइसकेको पाठकले बताए।
 
एकेडेमीको ब्याडमिन्टन कभर्ड हलमा तीन वटा कोर्ट छन्। एकेडेमीमा आउने खेलाडीलाई पूर्व नेपाल च्याम्पियन एवम वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक सुदिप योञ्जनले प्रशिक्षण गराउनेछन्। एकेडेमीमा अहिले नियमित रुपमा १० खेलाडीले प्रशिक्षण गरिरहेको प्रशिक्षक योञ्जनले बताए।
 
प्रतियोगितामा करिब १ सय ३४ खेलाडीले प्रतिस्पर्धाको लागी नाम दर्ता गराइसकेको प्रशिक्षक योञ्जनले जानकारी गराए। एकेडेमीका अध्यक्ष पाठकले जेस्ट एकेडेमीलाई सुविधा सम्पन्न ब्याडमिन्टनको रुपमा अगाडी बढाउने लक्ष्यसहित काम गरिरहेको बताए।
 
प्रतियोगिताको पुरुष एकल र पुरुष डबल्स विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनलमा पुग्ने खेलाडीले समान ८ हजार नगद पुरस्कार पाउनेछन।
 
महिला डबल्स, मास्टर (३५ वर्ष) र मास्टर (४५वर्ष) तर्फका विजेताले २० हजार, उपविजेताले १२ हजार, सेमिफाइनलमा पुग्नेले समान ७ हजार पाउनेछन्।
 
यसैगरी यु–१५ पुरुष तर्फको विजेताले १५ हजार, उपविजेताले ८ हजार, सेमिफाइनलमा पुगेको खेलाडीले समान ५ हजार पाउनेछन्।
 
प्रतियोगिताको खेलहरु बिडब्लुएफ र एबिएको नियमअनुसार हुने अन्तराष्ट्रिय अम्पायर उदय अर्यालले बताए।
 
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले छोटो समयमै नयाँ एकेडेमी निमार्ण गरेर राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नु नेपाली ब्याडमिन्टनको लागि खुसीको कुरो भएको बताए।
 
यस्तै काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले अन्तराष्ट्रिय नियमअनुसार खेल हुनु नेपाली ब्याडमिन्टनको लागि थप सुखद कुरा भएको बताए। उनले भने, ‘आगामी दिनमा एकेडेमीले जुनियर स्तरको कार्यक्रम ल्याए हामी सहयोग गर्न तयार छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell