PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

खानेपानी र अन्य प्रयोजनको पानी ट्यांकरमा छुट्टाछुट्टै स्टिकर, दसैंपछि बढ्दैछ मूल्य



पहिलोपोस्ट

खानेपानी र अन्य प्रयोजनको पानी ट्यांकरमा छुट्टाछुट्टै स्टिकर, दसैंपछि बढ्दैछ मूल्य

काठमाडौं : सरकारले खानेपानी र अन्य प्रयोजनका लागि प्रयोग हुने पानी ट्याङकरको छुट्टाछुट्टै स्टिकर निर्धारण गर्न निर्देशन दिएको छ।
 
सरकारले दुई स्टिकर राखेर पानी बिक्री वितरण गर्न खानेपानीसँग सम्बन्धित सरकारी निकाय तथा ट्यांकर व्यवसायीलाई निर्देशन दिएको हो।
 
सरकारी अनुगमनमा एक सय ५० वटा ट्यांकर र चार स्रोतका खानेपानी पिउन अयोग्य पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो।
 
सरकारले उपत्यकाको भएका ६ सय ट्यांकरको परीक्षण गरेको थियो। तीमध्ये एक सय ५० वटा ट्यांकर प्रयोग गर्न अयोग्य भेटिएपछि मापदण्ड लागू गर्ने निर्णय भएको उपत्यका काठमाडौं उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दहालले जानकारी दिए।
 
५९ वटा खानेपानी स्रोतमध्ये चार वटा रासायनिक र भौतिक तवरले मापदण्ड विपरीत पाइएको उनले बताए।
 
आपूर्ति मन्त्रालयमा मन्त्री दीपक बोहराको अध्यक्षतामा ट्यांकर व्यवसायी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड तथा उपत्यका खानेपानी लिमिटेड सम्मिलित बैठकले एक सातामा खानेपानी तथा अन्य प्रयोजनका लागि प्रयोग हुने ट्याकंरका लागि छुट्टै स्टिकरको व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
 
पुराना निर्देशिकामा अस्पष्ट र अपुग बुँदाहरु रहेकोले दसैंपछि सच्याउने निर्णय भएको संघका अध्यक्ष दहालले बताए।
 
'हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको खानेपानीको मूल्य महसुल निर्धारण आयोगले गर्दै आएको छ,' उनले भने,’ निश्चित मूल्य तय गर्नेबारे छलफल भइरहेको छ।'
 
तीन वर्षदेखि खानेपानीका लागि निलो र अन्य प्रयोजनका लागि पहेँलो राख्ने निर्णय कार्यान्वयनमा आउन नसकेको दाहालले बताए।
 

दसैंपछि मूल्य निर्धारण

दसैंपछि लागू हुने गरी मूल्य तय गर्न लागिएको दहालले जानकारी दिएका छन्। अहिले निजी क्षेत्र र सरकारी संस्थानले आ-आफ्नै मूल्यमा पानी बिक्री गरिरहेका छन्।
 
दसैंपछि खानेपानीको मूल्य बढ्ने समेत उनले बताए। 'हाल हामीले १२ हजार लिटर पानीको मूल्य न्युनतम दुई हजार पाँच सय राखेका छौं। अब यसको मुल्य दुई हजार आठ सय रुपैयाँसम्म पुग्न सक्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell