काठमाडौं : दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ। आपूर्ति मन्त्रालयमा खुद्रा तथा थोक तरकारी फलफूल व्यवसायीसँग छलफल गरी सरकारले चाडपर्वभर तरकारीको मूल्य नियन्त्रण गर्ने निर्णय गरेको हो।
आपूर्ति विभागका कार्यकारी निर्देशक गोकुल धितालका अनुसार सरकारले व्यवसायीसँग समन्वयन गरेर दसैंका लागि आलु, प्याज, अदुवा, लसुन लगायतका लामो समयसम्म स्टक गर्न मिल्ने तरकारीमा निश्चित मूल्य तोक्नेछ।
आपूर्ति मन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कालिमाटी तरकारी थोक व्यवसायी संघ, कृषि व्यवस्थापन विभाग, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा खुद्रा तरकारी बजारका प्रतिनिधिको सहभागिता थियो।
समितिले व्यवसायीसँग समन्वय गरी तरकारी तथा फलफूलको थोक मूल्य तोक्ने र विभागले नियमित बजार अनुगमन गर्ने धितालले बताए। अनुगमनमा तोकिएको मूल्यभन्दा बढी लिने थोक बिक्रेतादेखि खुद्रा व्यवसायीसम्मलाई कारबाही गर्ने उनले जानकारी दिए।
कालिमाटी तरकारी थोक व्यवसायी संघका अध्यक्ष भरत खतिवडाका अनुसार विशेषगरी थोक बजारबाट किनेर खुद्रा व्यापारीले महँगोमा तरकारी बेच्ने भएकाले तरकारीको भाउ महँगिएको हो। खुद्रा तथा थोक व्यवसायीबीच थोक बजारबाट किनेको भन्दा निश्चित नाफा राखेर मात्र तरकारी तथा फलफूल कारोबार गर्न सहमति भएको उनले बताए।
'अब खुद्रा व्यापारीले बढी नाफा खान पाउँदैनन्। २२ रुपैयाँ किलोमा किनेको प्याजलाई २६ रुपैयाँभन्दा बढी लिन नपाउने गरी मूल्य निर्धारण गर्छौं,' उनले भने।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बुधबारदेखि तरकारीको मूल्य पनि घट्दै गएकाले दसैंमा तरकारीको मूल्य बढ्ने सम्भावना नरहेको बताए।