काठमाडौं : टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई भारत भ्रमणमा रहँदा प्रधानमन्त्रीले भेटेको घटनाबारे फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले बचाउ गरेका छन्।
आज संसदमा बोल्दै चौधरीले 'अब के, प्रधानमन्त्रीलाई नमस्कार समेत गर्न नहुने?' भन्दै प्रश्न गरे। 'कोको व्यक्ति फरार छन् भनेर प्रधानमन्त्रीले कसरी चिन्न सक्छ,' उनले भने, 'फरार व्यक्तिको फोटै बोकेर हिँड्नुपर्ने?'
भदौ ३० गतेदेखि भएको भारतको राजकीय भ्रमणमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरीको सर्वाधिक खोजीमा रहेका चौधरीसँग भेट गरेको फोटो सार्वजनिक भएको थियो।
भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले प्रधानमन्त्रीसँग हात मिलाउँदै कुरा गरिरहेको फोटो सार्वजनिक भएको थियो। तर, प्रचण्डको सचिवालयले भने भेट गर्ने कुनै कार्यक्रम नभएको र कुरा पनि नभएको दाबी गरेको छ। (फोटो साभार : अन्नपूर्ण अनलाइन)