काठमाडौं : सरकारले चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका सम्बन्धमा छानबिन गरी तीनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रमेशविक्रम सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दीपक रिजाल रहेका छन्।
असोज ७ गते केन्द्रमा उपचारका क्रममा साढे दुई वर्षका बालक महादेव रिजालको मृत्यु भएपछि स्थानीयवासीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अमानवीय तरिकाले माफ माग्न बाध्य पारेका थिए।
घटनापछि नेपाल चिकित्सक सङ्घले बिहीबार स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काठमाडौं ल्याएको छ। सम्पूर्ण स्वास्थ्यकर्मी काठमाडौँ आएपछि त्यहाँको आकस्मिकसहित अन्य स्वास्थ्य सेवा पनि ठप्प भएको छ।रासस