
काठमाडौं : भदौ महिनामा हिंसामा परेका महिलामध्ये ५४ प्रतिशत महिला १७ देखि ३० वर्ष उमेर समूहका रहेका छन्।
महिला पुनःस्थापना केन्द्र (ओरेक)ले भदौ महिनामा गरेको अध्ययनअनुसार ९५ वटा हिंसामा परेका घटना दर्ता भएकामा ४६ प्रतिशत १६ वर्षमुनिका देखिएको छ।
यसैगरी, ३९ प्रतिशत महिला शारीरिक हिंसामा परेका थिए भने मानसिक हिंसामा २४ प्रतिशत, बलात्कारको घटना १० प्रतिशत, बहुविवाहको घटना ८ प्रतिशत र अन्य घटना १३ प्रतिशत महिला हिंसामा परेको देखिएको छ। उनीहरुमध्ये ३१ प्रतिशत महिला आफ्नै परिवारबाट पीडित भएका थिए भने २३ प्रतिशत छिमेकी तथा नातेदारबाट हिंसामा परेका थिए।
यस्तै, १५ प्रतिशत आफ्नै श्रीमानबाट र ८ प्रतिशत प्रेमीबाट हिंसामा परेका थिए। महिला हिंसाविरुद्ध विभिन्न सङ्घसंस्थाले समय–समयमा जनचेतनात्मक कार्यक्रम, र्याली, सडक नाटकजस्ता कार्यक्रम गरे पनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको उक्त तथ्याङ्कले देखाएको छ।