
काठमाडौं : एभरेस्ट प्रिमियर लिग इपिएलको पहिलो सुपर ओभर भिडन्तमा ज्ञानेन्द्र मल्लको कलर्स एक्स फ्याक्टरले शक्ति गौचनको जगदम्बा राइनोजलाई पराजित गरेको छ।
सुपर ओभरमा ११ रनको लक्ष्य एक्स फ्याक्टरले १ बल बाँकी छँदै पूरा गरेर प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। ४ खेलमध्ये ३ खेल जितेको एक्स फ्याक्टर ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
फाइनल पुग्नका लागि एक्स फ्याक्टरले आफ्नो अन्तिम खेलमा पारस खड्काको वारिसर्यसँग खेल्नेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको दिनको पहिलो खेलमा एक्स फ्याक्टर र राइनोजले समान ११२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलियो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको राइनोजले २ विकेट गुमाएर १० रन बनायो। जवाफमा ज्ञानेन्द्र मल्ल र सिद्धान्त लोहनीको जोडीले ५ बलमा ११ रन जोड्दै एक्स फ्याक्टरलाई जित दिलाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एक्स फ्याक्टरले २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। उसका लागि कप्तान ज्ञानेन्द्र र राजेश पुलामी मगरले समान २९ रन बनाएका थिए। यस्तै सिद्धान्त लोहनीले १९ तथा योगेन्द्र कार्कीले १६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक छुन नसक्दा एक्स फ्याक्टरले सामान्य स्कोर बनाएको थियो। बलिङमा राइनोजका सोमपाल कामी र निजामुद्धिन हलुवाइले समनान ३ विकेट लिए भने शक्ति गौचनले २ विकेट झारे।
जवाफमा राइनोजले पनि २० ओभरमा ९ विकेट गुमाएर ११२ रन बनायो। सन्जम रेग्मीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए पनि राइनोजले अन्तिम ओभरमा १३ रन प्रहार गर्दै स्कोर बराबरी गरेको हो। राइनोजका पवन सराफले अन्तिम ओभरमा १२ रन बनाए। कुल १३ बल खेलेका सराफले नटआउट १९ रन बनाए। यस्तै राइनोजका ओपनर महेश क्षेत्रीले २२, सोमपाल कामीले १९, अमित श्रेष्ठले १५ तथा कप्तान शक्ति गौचनले १४ रनको योगदान गरे।
४ ओभर बलिङ गरेका एक्स फ्याक्टरका सन्जमले १ मेडन राख्दै १२ ओभर दिएर ४ विकेट लिए। हरिशंकर शाह र अमरसिंह रतौलाले १/१ विकेट लिए।
४ खेलमा यो तेस्रो हार बेहोरेसँगै राइनोजको शीर्ष दुईमा रहदै फाइनल पुग्ने सम्भावना समाप्त भएको छ। यसअघि नै कान्तिपुर गोर्खाज र सगरमाथा लेजेण्ड्स फाइनलबाट बाहिरिसकेका छन्। शरद भेषावकरको पञ्चकन्या तेज भने एक खेल खेल्नुअघि लगातार ४ खेल जित्दै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ।
तेजले आफ्नो अन्तिम खेलमा शुक्रबारै पारस खड्काको वारिसर्यसँग खेल्दैछ।