
काठमाडौं : प्रदर्शनको तेस्रो हप्ता पूरा गर्दा पनि 'छक्का पन्जा'ले काठमाडौंका फिल्म हलहरुमा आफ्नो वर्चस्व कायमै राखेको छ। छक्का पन्जाले हाउसफुलको रेकर्ड बनाइरहँदा हल छिरेका 'गाँठो' र 'झुम्की' भने एक हप्ता पनि टिकेनन्।
यो हप्ता पनि प्राय: सबै सिंगल स्क्रिन र मल्टिप्लेक्सहरुमा छक्का पन्जाकै शो भइरहेको छ। यहीबीच प्रदर्शनमा आएका छन्, आशिष श्रेष्ठ निर्देशित 'सफर' र पुष्कर घिमिरेको 'सत्यदीप'।
अमेरिकी भूगोलमा पूरै छायांकन गरिएको सफरमा युवा अवस्थाको भोगाइ, प्रेम, पढाइ, करिअर, विदेशी जीवनप्रतिको लगावलाई प्रस्तुत गरिएको छ। फिल्म नेपालका ४५ हलमा एकसाथ प्रदर्शनमा आएको हो। बिहीबार फिल्म युनिटले रोज फाउण्डेशनसँगको सहकार्यमा च्यारिटी शो आयोजना गर्यो। शोबाट संकलित रकम एचआइभी संक्रमितहरुको उपचारका लागि खर्च गरिने फिल्म युनिटले जानकारी दिएको छ।
सफरमा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोखरेल, नुर्जा श्रेष्ठ लगायत कलाकारको भूमिका छ। समाविष्ट चार गीतमा स्वरुपराज आचार्य, धर्मेन्द्र सेवान, सुगम पोख्रेल, सुमन गुरुङको स्वर छ। फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको हो।
'विदेशमा बने पनि नेपाली युवाहरुको कथा भएकाले दर्शकले मन पराउनुहुनेछ,' निर्देशक आशिष श्रेष्ठले आशा व्यक्त गरे।
त्यस्तै, संगीतिक कथा बोकेको फिल्म सत्यदीपमा जोनीसिंह राणा, सविना केसी, श्याम केसी, सिमोन दाहाल लगायतका कलाकारले अभिनय गरेका छन्।
'फ्राइडे रिलिज' मा आजदेखि हिन्दी फिल्म 'एमएस धोनी : दि अन्टोल्ड स्टोरी' पनि प्रदर्शनमा आएको छ। भारतीय क्रिकेटर धोनीको बायोपिक ३ घन्टा १० मिनेट लामो छ, यसमा ८ गीत समावेश छन्।
निरज पाण्डेले निर्देशन गरेको फिल्मलाई इन्सपायर्ड इन्टरटेनमेन्ट र अरुण पाण्डेले निर्माण गरेका हुन्।
बायोपिकमा अभिनेता सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गरेका छन्। उनीसँगै दिशा पटानी, कियारा अद्भावी र अनुपम खेरले पनि दर्शकलाई मनोरन्जन दिनेछन्।
राम्रो समीक्षाका साथ व्यावसायिक सफलता पाइरहेको फिल्म 'पिंक'लाई भने यो हप्ताको फ्राइडे रिलिजले कुनै असर गरेन। फिल्म नेपाल र भारतका हलहरुमा अझै लागिरहेको छ। तीन युवतीको जीवनकथा र उनीहरुमाथिको यौन दुर्व्यवहारलाई फिल्ममा प्रस्तुत गरिएको छ।
पिंकलाई अनिरुद्ध रोय चौधरीले निर्देशन गरेका हुन्। फिल्ममा तापसी पन्नु, फलक कीर्ति कुल्हारी र एन्ड्रिया तारियाङ, अमिताभ बच्चन, अंगद बेदी, पियूष मिश्रा लगायतका कलाकारको भूमिका छ।
हलिउडतर्फ भने मल्टिप्लेकसमा 'मिस पेरेग्रिन्स होम फर पेकुलिअर चिल्ड्रेन' चलिरहेको छ। र्यान्सम रिग्सको किताबमा आधारित फिल्मलाई टिम बर्टनले निर्देशन गरेका हुन्।