PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जोनसनलाई फेसबुकमा साथी बनाउने महिला यसरी ठगिए, प्रहरी भन्छ : उसको फ्रेन्ड रिक्वेस्ट नस्विकार्नू



सविन ढकाल

जोनसनलाई फेसबुकमा साथी बनाउने महिला यसरी ठगिए, प्रहरी भन्छ : उसको फ्रेन्ड रिक्वेस्ट नस्विकार्नू

काठमाडौं : नवलपरासी घर भई काठमाडौंमा परिवारसहित डेरा गरी बस्दै आएकी ३५ वर्षीया संगीता प्रधान (नाम परिवर्तन) ले बैंकमा खाता खोलेको केही महिना मात्र भएको छ। एक दिन उनको खातामा अचानक ५ लाख रुपैयाँ जम्मा हुन्छ।
 
मध्यमवर्गीय परिवारकी संगीताको खातामा अचानक यति धेरै रकम? कसले हालिदियो होला? आश्चर्यमा पर्छिन् उनी।
 
बैंकमा यत्रो रकम जम्मा भएको कुरा उनी श्रीमानलाई समेत भन्दिनन्। पछि बुझ्दा उनलाई विदेशी नागरिक केन जोनसनमार्फत रकम आएको थाहा पाउँछिन्। जोनसनसँग उनी यसअघि नै फेसबुकमार्फत साथी बनिसकेकी हुन्छिन्।
 
उनलाई आएको रकम हुन्डीमार्फत भारत पठाइदिन उनै जोनसनले संगीतालाई आग्रह गर्छन्। सामान्य पढेलेखेकी उनलाई पैसा कसरी पठाइन्छ भन्ने समेत थाहा हुँदैन।
 
अचानक मोटो रकम आफ्नो खातामा आएपछि अत्तालिएकी उनी केही नसोची प्रहरीकहाँ पुग्छिन् र सबै रकम बुझाउँछिन्। त्यसपछि जोनसनको नामबाट खोलिएको फेसबुकलाई उनी ब्लक गर्छिन्। अन्तत: केही महिनाको जोनसन-संगीता सम्बन्ध यहीँ टुंगिन्छ।
 
***
महानगरीय अपराध अनुसन्धान ब्युरोले गएको मंगलबार काठमाडौंबाट ३२ वर्षीया मेनुका श्रेष्ठ (नाम परिवर्तन) लाई पक्राउ गर्छ। आफूहरु ठगीमा परेको भन्दै केही महिलाले दिएको उजुरीपछि अनुसन्धानमा लागेको प्रहरी मेनुकासम्म पुग्छ। जबकि उजुरीकर्ता-मेनुकाबीच कहिले भेटघाट र कुनै सम्बन्ध हुँदैन। पक्राउ परेकी उनी भने आफूले कसैलाई ठगी नगरेको दाबी गर्छिन्। प्रहरीले उनीसँग बयान लिन थाल्छ। मेनुकाले बयान दिने क्रममा जब केन जोनसनको नाम लिन्छिन्। यसपछि भने सबै घटनाको पर्दाफास हुन्छ।
 
मेनुकाको सम्बन्ध पनि संगीताको जस्तै गरी फेसबुकमा केन जोनसनसँग जोडिन्छ। केनबाट आएको फ्रेन्ड रिक्वेस्ट स्विकारेपछि उनीहरुबीच च्याट सुरु हुन्छ। केनसँगको कुराकानीमा उनी लोभिँदै जान्छिन्।
 
एक दिन केनले मेनुकालाई ल्यापटप र मोबाइल गिफ्ट पठाइदिन लागेको कुरा सुनाउँछन्। गिफ्टको लोभमा केनको कुरालाई उनी स्वीकार गर्छिन्। केनले भारतको बाटो हुँदै गिफ्ट काठमाडौं पठाउँछन्।
 
केही दिनपछि मेनुकालाई भारतबाट फोन आउँछ-

'केनले पठाएको सामान भारत आइपुगेको छ। कर तिरेपछि मात्र सामान पठाउन मिल्छ। तुरुन्त २५ हजार रुपैयाँ पठाउनुहोला।'
 
मेनुकाले यो खबर जोनसनसम्म पुर्‍याउँछिन्। भारतमा अड्किएको सामान निकाल्नका लागि आफूसँग पैसा नभएको सुनाएपछि जोनसन आवश्यक पैसा समेत पठाउन तयार हुन्छन्। र, बैंक खाता माग्छन्। उनी सहजै खाता नम्बर दिन्छिन्।
 
त्यसको केही दिनमै मेनुकाको खातामा पैसा जम्मा हुन्छ। जोनसनले अह्राएबमोजिम त्यो पैसा हुन्डीमार्फत उनी भारत पठाउँछिन्।
 
तर, अड्किएको सामान आइपुग्दैन बरु पुन: पैसा पठाउनुपर्ने भन्दै भारतबाट मेनुकालाई खबर आउँछ। पटकपटक २५ हजार, ४० हजार, ६० हजारको माग हुन्छ। जोनसनले पनि मेनुकाको खातामा उति नै पैसा पठाइरहन्छन्।
 
धेरैचोटि पैसा पठाए पनि उनको गिफ्ट हात पर्दैन। मेनुकाको बयानपछि अर्को रहस्य खुल्छ।
 
प्रहरीमा उजुरी दिन आएका अरु महिलासँग पनि जोनसनको सम्बन्ध हुन्छ। मेनुकालाई जस्तै उनीहरुलाई पनि जोनसनले 'गिफ्ट पठाएको छु, भारतमा कर तिर्नुपर्‍यो' भन्दै ती महिलाहरुलाई मेनुकाको बैंक खाता दिएर पैसा हाल्न लगाएका हुँदा रहेछन्।
 
मेनुकाको खातामा आएको पैसा जोनसनले पठाएको नभई उजुरी गर्ने महिलाले हालिदिएको हुन्छ। मेनुकाले त्यही पैसा जोनसनले हालिदिएको ठानेर बैंकबाट निकाली हुन्डीमार्फत जोनसनलाई नै भारत पठाउने गरेको तथ्य खुल्न आउँछ।
 
उजुरीकर्ता महिलाहरुले पनि पटकपटक पैसा पठाउँदा सामान नआएको भन्दै प्रहरीकहाँ उजुरी दिएका हुन्छन्। ती महिलाले भने मेनुकाको खाता नम्बरमा पैसा पठाइरहेका हुँदा रहेछन्। मेनुकालाई भने जोनसनको माध्यम बनिरहेको पत्तै हुँदैन।
 
यसरी गिफ्टको लोभमा मेनुका र अरु महिला फस्छन्।
 
अहिले केन जोनसनले नेपालका २२ भन्दा बढी महिलाबाट ४० लाख हाराहारीमा रकम ठगेको प्रहरीले पत्ता लगाइसकेको छ। महानगरीय अपराध अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार अहिले जोनसन नाम गरेका विदेशी नागरिकले धेरै गृहिणीलाई ठग्दै आएका छन्।
 
प्रहरीले अपरिचित व्यक्ति तथा केन जोनसनको फेसबुक आइडीमा साथी नबन्न समेत आग्रह गरेको छ।
 
यो पनि पढ्नुस् : आइफोनको लोभ देखाएर फेसबुके लभरले यसरी फसाए विनितालाई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell