PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कान्तिपुर गाथा : तिमी नै त हौ मेरो आँखा चार्ली!



किशोर नेपाल

कान्तिपुर गाथा : तिमी नै त हौ मेरो आँखा चार्ली!

चितवनबाट फर्किएपछि कनिका रिपोर्टिङका लागि नयाँ फिल्डको खोजीमा थिइ। सुदिप्ती उसलाई भन्दै थिइ, ‘तँ अब यहाँका हाइ–प्रोफाइलको पनि स्टडी गर्न थाल। दे आर भेरी इन्ट्रेस्टिङ। वी हायभ टू एक्सपोज सम अफ देम फर देयर रङ डुइङ।’

नट अ व्याड आइडिया – कनिकाले सोची। यत्तिकैमा उसको भाइबर बज्यो। सुदिप्तीले जिस्क्याई, ‘लौ आयो, डार्लिङको फोन।’

शंका थिएन। फोन त डार्लिङकै थियो। चार्लीले खबर दियो, ‘ड्याडीको अपरेसन छ रे। मी कमिङ आजै रातिको फ्लाइटबाट। तिमी एघार बजे एयरपोर्ट आउन सक्छ्यौ एउटा गाडीको व्यवस्था गरेर?’

कनिकाले भनी, ‘ओके। आइ वील वी देयर।’

कनिका सक्ड थिइ। कतार उडनुभन्दा पहिले चार्लीले उसलाई भनेको थियो, ‘तिमी मेरो मम–ड्याडको खबर बुझ्दै गर है।’ तर, उ चार्ली उडेदेखि एकदिन पनि उसको घरमा गएकी थिइन। उसले साह्रै गिल्टी फिल गरी। वास्तवमा रिपोर्टिङमा लागेदेखि उ त्यसैमा डुबेकी थिइ। एउटा असल रिपोर्टर बन्ने ध्याउन्नमा मानिसका सामान्य शिष्टाचारहरुमा पनि उसको ध्यान गएको थिएन।

उसले सुदिप्तीलाई सुनाइ। सुदिप्तीले ठटेउला पारामा भनी, ‘अब तीन दिन रिपोर्टर साहिवा आरामले गायव। के हुन्छ त अब रिपोर्टिङको?’
कनिकाले जवाफ दिइ, ‘डोन्ट वरी। कनि वील कम टू योर सर्भिस टुमारो।’

त्यसपछि उसले एउटा प्राइभेट ट्याक्सी वुकिङ गरी एघार बजे एयरपोर्टका लागि। त्यसपछि सुदिप्तीलाई कफीका लागि रिक्वेष्ट गरी। उनीहरु दुवै कफी पसल पुगे। त्यो उनीहरुको अल्टिमेट डेस्टिनेसन बनिसकेको थियो। उनीहरुले कफीसँगै व्ल्यूवेरी केक खाए। कनिकाले भनी, ‘सुदि, मलाई काम पुगेन। अलि मज्जा आउने रिपोर्टिङमा लगाउ न।’

जवाफमा सुदिप्ती केही बोलिन। कनिकाको जाँगर देखेर उ छक्क परेकी थिइ। उसलाई कताकता लागेको थियो, यस्तै हो भने कुनै दिन यसले मलाइ नै टप्काउँछे। कनिकाप्रति उसको मनमा इर्ष्या जागेको थियो। केटीहरुको मनमा इर्ष्या जागेपछि कसैको केही लाग्दैन। कनिकाको मनमा यस्तो केही थिएन। उ खुल्ला थिइ। सुदिप्तीले भनी भने उ काम छाडेर अन्त पनि जान सक्थी। सुदिप्ती कनिकालाई हटाउने पक्षमा थिइन। उ कुनै किसिमले उसलाई आफनो अण्डरमा राख्न चाहन्थी। त्यो भन्दा बढी केही गर्नु उसैका लागि आत्मघाती हुने उसले बुझेकी थिइ।

कनिका राति साढे दश बजे नै एयरपोर्ट पुगी। ट्याक्सी पार्किङ भरिभराउ थियो। तर, एयरपोर्टमा चाहिने जति उज्यालो थिएन। उ छेउको कफी पसलमा पुगी। एक कप कफी लिइ र पिउन थाली। त्यहाँ उसले चुरोटको तलतल मेट्न भने पाइन। किनभने त्यो नन स्मोकिङ जोन थियो। कफी सिध्याएर उ पार्किङ एरियातिर लागी। आफ्नो व्यागबाट सिगरेट निकालेर सल्काइ। त्यत्तिकैमा कुनै एउटा जवान केटो त्यहाँ देखा पर्‍यो र अंग्रेजीमा बोल्यो, ‘ओह, हाइ।’

कनिकाले ध्यान दिइन। उ आफनै सुरमा चुरोट पिउन थाली।

केटो अलिकति नजीक आएर भन्यो, ‘क्यान आइ हायव योर लाइटर प्लिज।’

कनिकाले सुनेको नसुन्यै गरी।

केटो कस्ती ठीस केटी रहिछ भन्दै हिंड्यो।

राति एघार बजेर दश मिनटमा ल्याण्ड गर्‍यो कतार एयरवेज। चार्ली ओर्लियो र कनिकालाई कल गर्‍यो।

कनिकाले भनी, ‘म पर्खी रहेकी छु बाहिर।’

चार्लीले भन्यो, ‘लगेज लिएर निस्किन अझै आधा घण्टा लाग्छ होला। यहाँ त टिकी नसक्नुको भिड छ। धकमधक्का चलेको छ। रिपोर्टरहरुको आँखामा परेको छैन कि के हो यो ठाउँ?’

कनिकाले जवाफ दिइ, ‘नपरे पनि अब परिहाल्यो नि। तिमी नै त हौ मेरो आँखा।’

कनिकाको जवाफले चार्ली अभिभूत भयो।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
 
यो सिरिजका अन्य गाथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell