PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

आफैंले 'खिचडी' भनेको विधेयकलाई माओवादी सांसदले कसरी पास गराए?



मनोज सत्याल

आफैंले 'खिचडी' भनेको विधेयकलाई माओवादी सांसदले कसरी पास गराए?

काठमाडौं : २०७३ साउन ७ गते साँझ अर्थमन्त्री विष्णु पौडेल संसदको रोष्टममा उक्लिए।

उनले पालैपालो आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक छलफल गर्न प्रस्ताव गरे।

छलफलमा भाग लिएका नेकपा माओवादीका सांसद कृष्णबहादुर महरा रोष्टममा उक्लिए र भने, 'यो विधेयकभित्र पस्न आवश्यक नै छैन। करको दायरा प्रगतिशील छैन। करको दायरा समाजवाद उन्मुख छैन। एक किसिमले एकाधिकार पुँजीवाद र समाजवादको बीचमा खिचडी आएको छ। कर चुहावट यति धेरै छ कि कर उठाउने मेकानिजमको व्यवस्था छैन त्यसैले विधेयकको कुनै औचित्य छैन।'

महराले आफ्ना सांसदहरुलाई सरकारबाट फिर्ता भइसकेको अवस्थामा विपक्षमा मतदान गर्न आग्रह समेत गरे।

नेकपा माओवादी केन्द्रले असार २८ गते सरकारबाट हट्ने निर्णय लिएको थियो भने २९ गते संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। माओवादीको तर्क थियो- अविश्वासको प्रस्ताव पेश भइसकेको अवस्थामा हामी विपक्षमा पुग्यौं।

विधेयकहरुमाथिको छलफलमा जवाफ दिने क्रममा अर्थमन्त्री विष्णु पौडेलले महरामाथि व्यङ्ग गरे। 'अस्ति यसमा समर्थन थियो। समर्थनमा ध्वनिलाई गुञ्जायमान गराएका थियौं। आज विरोधमा उभिन खोज्दैछौं।  यो पेश गर्दा के थियो त?'

संसदमा विधेयक पेश गर्ने बेला भने नेकपा माओवादी सरकारमा थियो। उसका मन्त्रीहरु सम्मलिति मन्त्रिपरिषद्ले नै विधेयक पारित गरेर संसदमा पेश गरेको थियो।

तर जब सभामुख ओनसरी घर्तीले विधेयकहरु निर्णयार्थ पेश गर्दै पक्षमा हुनेलाई 'हुन्छ' र विपक्षमा हुनेलाई 'हुन्न' भन्न लगाइन्। माओवादी सांसदहरुले हात उठाउँदै भने, 'हुन्न।' लगातार रोष्ट्रममा उक्लिएर विधेयक पारितका लागि आग्रह गरे पनि विष्णु पौडेलले पेश गरेका बजेटका कुनै आश्रित विधेयक पारित भएनन्।

तर शुक्रबार तीनै आश्रित विधेयक कुनै परिमार्जनबिना संसदबाट पेश भयो। पेश गरेका थिए, उनै विधेयकलाई 'खिचडी' भन्ने सांसद कृष्णबहादुर महराले। जो यति बेला अर्थमन्त्री छन्।
 

कसरी भयो विधेयक पास?

महराले राखेको एउटै व्यहोराको विधेयक निर्णयार्थ पेश गर्दै 'हुन्छ' र 'हुन्न' भन्न लगाइन्, सभामुख ओनसरी घर्तीले। अनि माओवादी केन्द्रका सांसदहरुले ध्वनि मत दिए-  'हुन्छ।'

कांग्रेस सांसदहरुले समेत साथ दिएपछि तीन वटै विधेयक पारित भए।

विधेयक पास गर्नका लागि नियम निलम्बनको विपक्षमा मत हालेको नेकपा एमाले भने विधेयक पारित गर्ने बेला मौन बस्यो। एमालेका कुनै पनि सांसदले हुन्छ वा हुन्न भनेनन्।

विधेयक पास गर्नुअघि आर्थिक विधेयकमा भएको छलफलमा एमालेका सांसदहरुले माओवादी केन्द्रमाथि व्यङ्ग गरे।

एमाले सांसद रवीन्द्र अधिकारीले 'विश्वमै नभएको प्रचलन सुरु गरेको भन्दै कसकसलाई बधाई दिनुपर्ने हो' भन्दै व्यङ्ग्य गरे। 'यो नौटंकी संसदको इतिहासमा भारी पर्नेछ,' अधिकारीले भने।

पूर्व अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले भने तर्कका आधारमा नभई आग्रहको आधारमा विधेयक विगतमा अस्वीकृत गरिएको आरोप लगाए। 'सच्चाई ढिलो भए पनि स्वीकार गरिएको छ,' पौडेलले भने।

एमालेका अर्का सांसद अग्नि खरेलले शब्दकोशबाट लाज भन्ने शब्द हटाउनुपर्ने बताए। तर महरा जवाफ दिने पालोमा केही बोलेनन्। उनले विधेयकको विषयवस्तुमा प्रवेश गरे लिखित जवाफ पढे र उम्किए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell