काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य समेत रहेका स्वास्थ्य मन्त्री गगन थापाले कांग्रेसलाई सबै आन्दोलनको नेतृत्व गर्ने तर त्यसको व्यवस्थापन गर्न नसक्ने पार्टी बन्न दिनु नहुने बताएका छन्।
सुशील कोइराला अध्ययन प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै थापाले कांग्रेसका नेताहरुले सबै कांग्रेसले सात सालदेखिका सबै आन्दोलनको नेतृत्व गरेको भन्दा ताली लाग्ने गरे पनि अब त्यसो भन्ने छुट नहुने बताए।
'विगतमा सात सालदेखिका सबै आन्दोलनको नेतृत्व कांग्रेसले गर्यो भनेर नेताले भाषण गर्दा हामीले ताली बजायौ,' थापाले प्रश्न गरे, 'तर हामीले परिवर्तनका लागि भएका आन्दोलनको नेतृत्व मात्र गर्यौं वा परिवर्तनपछिको परिस्थितिको व्यवस्थापन गर्न पनि सक्यौ?' उनले परिवर्तनको नेतृत्व मात्र गरेर सबैलाई नपुग्ने बताए।
'हिजोकै हिँड्नुपर्छ भन्दै गर्दा परिस्थिति जटिल थियो। त्यसको तुलनामा संविधान जारी भएपछि तुलनात्मक रुपमा परिस्थिति हाम्रो अनुकूलमा छ,' उनले भने, 'तर फेरि पनि ०७४ माघअघि तीन तहको चुनाव गर्न सकेनौं भने परिस्थिति थप जटिल बन्न सक्छ।' उनले ०७४ माघअघि चुनाव नभए उपलब्धि गुम्ने र अहिलेका प्रमुख दल आन्दोलनको नेतृत्व लिने हैसियतमा समेत नरहने बताए।
'तीन तहका चुनाव सम्पन्न गरेर संविधान कार्यान्वयन गर्न सकेनौं भने फेरि पनि आन्दोलन हुन्छ,' उनले भने, 'त्यति बेला नेपाली कांग्रेस हामी नेतृत्व गर्छौं भन्ने छुटमा हुँदैन एमाले र माओवादी समेत आन्दोलनको नेतृत्व गर्छु भन्ने हैसियतमा बाँकी हुँदैनन्।' उनले त्यस्तो परिस्थितिबाट जोगीन सबैले मिलेर चुनाव सम्पन्न गर्नुपर्ने बताए।
'चुनाव गराउन सजिलो छैन। त्यसका लागि कांग्रेस मात्र हैन माओवादी र प्रतिपक्षी एमालेकोको पनि महत्वपूर्ण हात रहन्छ,' थापाले भने, 'त्यसैले परिवर्तनलाई संस्थागत गर्न यी तीन शक्तिबीच राजनीतिक समझदारी आवश्यक छ।' उनले कुनै अमुक दलको मात्र इच्छाअनुसार देश अघि बढ्न नसक्ने भन्दै सबैको समझदारीले मात्र परिवर्त संस्थागत हुने बताए।
सुशील कोइराला अध्ययन प्रतिष्ठानले बडादसैंको शुभकामना आदानप्रदानका लागि मन्त्री थापालाई बोलाएर ठमेलमा कार्यक्रम गरेको थियो।