
काठमाडौं : पञ्चकन्या तेजले वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएलमा लगातार पाँचौ जित हात पारेको छ।
शुक्रबार भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा शरद भेषावकरको तेजले पारस खड्काको कप्तानीमा रहेको विशाल वारिसर्यलाई २ विकेटले हरायो। १४३ रनको लक्ष्य पछ्याएको तेजले ८ विकेट गुमाएर ३ बल अगावै जित हासिल गर्यो।
तेजको जितमा आरिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे। ३४ बल खेलेका आरिफले १ चौका र ३ छक्का प्रहार गरे। यस्तै पृथु बास्कोटोले २४, सोनु तामाङले १४ तथा दीपेन्द्रसिंह ऐरीले १२ रन बनाए। बलिङमा वारिसर्यका दिपेश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए पनि तेजलाई जितबाट रोक्न सकेनन्। यस्तै रामनरेश गिरीले २ तथा सुसन भारी र सागर पुनले १/१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वारिसर्यले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। तेजका लागि मध्यम स्कोर खडा गर्न ओपनर सागर पुनले सर्वाधिक ४४ रन बनाए भने मन्जित श्रेष्ठले नटआउट ४० रन बनाए। यस्तै कप्तान पारस खड्काले २७ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङमा तेजका सुशील कँडेल र भुवन कार्कीले २/२ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह १/१ विकेट झारे।
यसअघि नै फाइनल पुगिसकेको तेजले अपराजित यात्रालाई कायम राख्दै लिगको सबै ५ खेल जितेर १० अंक जोड्यो। साथै ६ टिम सम्मिलित प्रतियोगितामा शीर्ष स्थान हासिल गरेको छ।
यता वारिसर्यको भने ४ खेलमा यो पहिलो हार हो। यसअघि एक खेलमा अंक बाँडेको वारिसर्यले २ खेल जितेको थियो। वारियर्सले अब शीर्ष दुईमा रहदै फाइनल पुग्नका लागि लिगको अन्तिम खेलमा कलर्स एक्स फ्याक्टरसँग शनिबार खेल्नेछ।
वारियर्स र एक्स फ्याक्टरबीचको विजेताले फाइनलमा तेजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। शनिबारै सगरमाथा लेजेण्ड्स र जगदम्बा राइनोजबीचको खेल पनि हुनेछ। फाइनल खेल सोमबार हुनेछ।