
काठमाडौं : सोसल साइन्स बहा:ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज ९ गते जारी गरेको वक्तव्यमा तथ्यहरु तोडमरोड गरेको आरोप लगाएको छ। बहा:ले समाज कल्याण परिषद्लाईमार्फत् अख्तियारलाई उपलब्ध गराएको कागजातमा उल्लेखित रकमलाई गलत अर्थ लाग्ने गरी वङ्ग्याइएको दावी गरेको हो।
‘आयोगले सोसल साइन्स बहाः अन्तर्गत सञ्चालित एलायन्स फर सोसल डायलग नामक कार्यक्रमलाई छुट्टै संस्थाका रूपमा चित्रण गरेको छ,’ बहा:ले विज्ञप्तिमार्फत् भनेको छ, ‘जुन सरासर गलत कुरा हो। एलायन्स फर सोसल डायलग नामक कार्यक्रम सञ्चालन गर्न सोसल साइन्स बहाःले प्रचलित कानुन अनुरूप समाज कल्याण परिषद्बाट पूर्व स्वीकृति लिएको छ।‘
विज्ञप्तिसँगै बहा:ले समाज कल्याण परिषदबाट विभिन्न मितिमा प्राप्त गरेका स्वीकृति पत्रसमेत सार्वजनिक गरेको छ।
‘कुनै पनि प्रचलित कानुनको उल्लङ्घन नगरेको व्यहोरा गर्व र दाबीका साथ उल्लेख गर्न चाहन्छ,’ बहा:ले भनेको छ, ‘विभिन्न निराधार आरोप लगाई, विषयवस्तुभित्र गैरकानुनी ढङ्गबाट प्रवेश गरी न्यायिक निकायले झैँ ठहर गरेर अख्तियारले प्रेस विज्ञप्ति निकाल्नु नेपालको संवैधानिक व्यवस्था तथा प्रचलित नीति–नियमको बर्खिलाप छ, पूर्वाग्रह तथा दुराशयबाट ग्रसित छ।‘
बहा:ले अख्तियारको कदमलाई क्षेत्राधिकार बाहिरको दावी गरेको छ। भनेको छ, ‘हामी राज्यका जुनसुकै निकायबाट कानुन बमोजिम हुने परीक्षणमा दृढताका साथ उत्रिन र हाम्राबारे गरिने अनुसन्धानमा सहयोगसमेत गर्न हमेसा तयार छौँ।‘
बहा:ले बहुलवादी समाज विकासको अभिन्न अङ्ग मानिने विधिको शासन, संवैधानिक सर्वोच्चता, लोकतन्त्र तथा सुशासन, समावेशीकरण, पारदर्शिता तथा उत्तरदायित्वका क्षेत्रमा प्राज्ञिक निकायका रूपमा समेत काम गरिरहेको जनाउँदै एलायन्स फर सोसल डायलग कार्यक्रमका अतिरिक्त सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, इन्टरएक्टिभ म्यापिङ एण्ड अर्काईभ प्रोजेक्ट लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको समेत जानकारी दिएको छ।