
काठमाडौं : रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा हाइवे फुटसल र रजनी फुटसलले जित हासिल गरेका छन्। सामाखुसी फुटसलमा भएको पहिलो खेलमा होम टिम सामाखुसीलाई हाइवे फुटसलले प्रतिस्पर्धात्मक खेलमा ७–६ गोल अन्तरले पराजित गरेको छ।
अवे मैदानमा हाइवेलाई जिताउन विकास लामाले ह्याट्रिक गरे भने अमित तामाङ र बसन्त गुरुङले २र२ गोल गरे। सामाखुसी फुटसलका नविन लामा र सन्तोष तामाङ दुवैले ह्याट्रिक गरे पनि आफ्नो टोलीलाई विजयी बनाउन सकेनन्। यस खेलको म्यान अफ द म्याच सामाखुसी फुटसलका नविन लामा चुनिए।
चौर रिक्रियसन सेन्टरमा भएको दोस्रो खेलमा रजनी फुटसलले होम टिम चौर रिक्रियसनमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पार्यो। रजनी फुटसललाई जिताउन सुशान केसीले ह्याट्रिक गरे भने विभोर गुरुङ र अविन थापाले १र१ गोल गरे। एकतर्फी खेलमा चौरका रमेश गुरुङले सान्त्वना गोल फर्काए। खेलको म्यान अफ द म्याचको उपाधि रजनी फुटसलका रुशान केसी घोषित भए।
होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ। लिगमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन्।