
काठमाडौं : नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले ६४ औं बोर्डोलोइ ट्रफी फुटबलको उपाधि जितेको छ। शुक्रबार बेलुका सम्पन्न खेलमा थ्रीस्टारले भारतको इस्ट बंगाललाई अतिरिक्त समयमा पराजित गर्दै पहिलो पटक प्रतियोगिताको उपाधि जितेको हो।
गुहवाटीस्थित नेहरु स्टेडियममा भएको खेलमा थ्री स्टारले अतिरिक्त समयमा इस्ट बंगालाई २-१ ले हरायो। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि विमल घर्ती मगरले थ्रीस्टारका लागि अतिरिक्त समयमा विजयी गोल गरे।
खेलको ८२ औं मिनेटमा एडलेजाले गोल गर्दै भारतीय टोली इस्ट बंगाललाई अग्रता दिलाएका थिए। तर इन्जुरी टाइम सकिनु अघि देवेन्द्र तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएपछि इस्ट बंगला स्तब्ध बन्यो।
त्यसपछि अतिरिक्त समयको नवौ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। उक्त अग्रता कायम राख्दै थ्री स्टार च्याम्पियन बन्दा इस्ट बंगलालले उपविजेतामै चित्त बुझायो।
थ्री स्टारका विजय गुरुङ र इस्ट बंगलालका सामत अलीले अतिरिक्त समयमा रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा झरेका थिए। निर्णायक गोल गरेका विमल फाइनल खेलको 'म्यान अफ दि म्याच' घोषित भए।
च्याम्पियन बनेका थ्री स्टारले नगद १६ लाख पुरस्कार हात पार्यो। यस्तै व्यक्तिगत विधामा पनि थ्री स्टारकै वर्चस्व रह्यो। प्रतियोगिताकै 'मोस्ट भ्यालुएबल प्लेअर' थ्री स्टारका विजय धिमाल भए। यस्तै मार्टिन सर्वाधिक गोलकर्ता बने। सबै खेलाडीले जनही ४० हजार प्राप्त गरे।