
काठमाडौं : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को स्थगित १९ औ शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्रसँग छलफल गरी आवश्यक पहल गर्ने बताएका छन्।
संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराका गर्दै उनले सबै सहभागी हुने सुनिश्चित गरेर शिखर सम्मेलन गर्नुपर्ने बताए।
क्षेत्रीय सहयोग र विकासलाई अघि बढाउन सार्क महत्वपूर्ण मञ्चका रुपमा रहेको हुँदा सदस्य राष्ट्रबीचको सुमधुर सम्बन्धले यस क्षेत्रको विकास र मञ्चको उपयोगिता बढ्ने उनको भनाइ छ।
हाल नेपाल अध्यक्ष रहेको सार्कको आगामी शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक २४–२५ गते हुने तय भएको थियो। तर भारत–पाकिस्तानबीच सम्बन्धमा देखिएको पछिल्लो तिक्ततासँगै आगामी कात्तिकमा हुने कार्यसूची रहेको सार्क शिखर सम्मेलन स्थगन भएको छ। सार्कको बडापत्रमा कारणवश एउटा सदस्य राष्ट्र पनि सहभागी हुन नसक्ने परिस्थिति भएका खण्डमा शिखर सम्मेलन हुन नसक्ने प्रावधान छ।
भारत– पाकिस्तानबीच उत्पन्न तनावसँगै सार्कका सदस्य राष्ट्र बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का लगायतले शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण उपयुक्त हुनुपर्ने भनाइ सार्वजनिक गरिसकेका छन्।
राष्ट्र सङ्घको महासभाका अवसरमा सहभागी सबै खाले मञ्चमा नेपालका तर्फबाट राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितका ठोस ढङ्गबाट भनाइ प्रस्तुत गरिएको मन्त्री महतले जानकारी दिए।
'महासभामा संयुक्त राष्ट्र सङ्घमार्फत विश्वशान्ति स्थापनार्थ गरेको योगदान, भूपरिवेष्ठित मुलुकले भोग्दै आएका समस्या र पाउनुपर्ने सुविधा, जलवायु परिवर्तन, आप्रवासीको सुरक्षा र रोजगारीका विषयमा नेपालका तर्फबाट ठोस ढङ्गले कुरा राखिएको छ,' उनले भने।
महासभामा भाग लिने क्रममा अमेरिकामा रहँदा परराष्ट्रमन्त्री डा. महतले राष्ट्र सङ्घका महासचिव बान की– मुन, अमेरिकाका राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री जोन केरीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, कोलम्बियाका विदेशमन्त्री लगायतसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सकेपछि परराष्ट्रमन्त्री डा. महत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन त्यसतर्फ गएका थिए। रासस
फाइल फोटो