
प्युठान : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार र साउनमा प्युठानको लुङ गाबिस ६ बहानेमा गएको पहिरोको स्थलगत निरीक्षण गरेका छन्।
शनिबार बिहान नेपाल एयरलाइन्सको हेलिकोप्टरबाट प्युठान आएका प्रधानमन्त्रीले पहिरोको स्थलगत निरीक्षण गरे। स्थानीय पीडितसँगको भेटघाटपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘तपाईहरुको पीडामा साथ दिन म प्युठान आएको छु। मैले सरकारको नेतृत्व गरेदेखि नै बाढी पहिरो पीडितलाई भूकम्प पीडितसरह राहत दिने निर्णय गरिएको छ। यसको छिटो कार्यान्वयन हुनेछ।'
लुङको पहिरो नियन्त्रण, राहत र पुनर्वासका लागि सरकारले गम्भीर रुपमा काम गर्ने पनि उनले बताए। प्रधानमन्त्रीले सरकार जनताको पक्षमा काम गर्न आतुर रहेको जानकारी दिँदै पीडितले सरकारको अनुभूति गर्ने गरी काम गर्ने विश्वास दिलाए।
निरीक्षणमा पूर्वअर्थमन्त्री तथा माओवादी नेता वर्षामान पुन, पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, माओवादी नेता कृष्णध्वज खड्का, प्युठानका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त लगायत सहभागी थिए।
गत असारमा लुङ गाविसको बहानेमा गएको पहिरोमा परी ५६ जना व्यक्तिको ज्यान गएको थियो भने २४८ घर पूर्ण रुपमा क्षति भएको छ। हाल ८ सयभन्दा बढी घर उच्च जोखिममा रहेको, ५६ विद्यालय जोखिममा रहेको, सडक सञ्जाल क्षतिग्रस्त भएको प्रजिअ पन्तले जानकारी गराए। फोटो : प्रचण्ड सचिवालय