PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

गोरखामा खाद्यान्न अभाव, स्थानीय भन्छन्- 'दसैंको मुखमा घरमा चामल छैन, डिपोमा पनि रहेनछ'



रासस

गोरखा : दसैँका मुखमा जिल्लाका उत्तरी भेगका १४ गाविसमा खाद्यान्नको अभाव भएको छ।
 
सदरमुकामस्थित नेपाल खाद्य संस्थानको डिपोमा चार हजार क्विन्टल खाद्यान्न मौज्दात रहे पनि दुर्गमका डिपोमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन सकेको छैन।
 
ढुवानी हुन नसक्दा जिल्लाका काशीगाउँ, केरौँजा, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत, छेकम्पार, उहिया, गुम्दा र लाप्राकलगायत १४ गाविसमा चामलको अभाव हुँदै आएको छ।
 
दुर्गम भेगका जनताले सहुलियत दरमा चामल उपभोग गर्न पाउन् भन्दै सरकारले गुम्दाको माछाखोला र सिर्दिवासको फिलिममा खाद्य संस्थानको डिपो सञ्चालन गर्दै आएको छ। 'दसैँको मुखमा आएर डिपो रित्तै छ,' सिर्दिवासकी कुमारी गुरुङले भनिन्, 'दसैँ आइसक्यो घरमा चामल छैन, डिपोमा पनि रहेनछ।'
 
एक महिनादेखि डिपो रित्तो हुँदा खाद्यान्न लिन आएका स्थानीय खाली हात घर फर्कन बाध्य भएका छन्। स्थानीय बजारमा ३० केजी चामलको रु ३ हजार ४ सय पर्ने भएपछि उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीय समस्यामा परेका छन्।
 
संस्थानले माछाखोला डिपोमा दुई हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि जम्मा ८४२ क्विन्टल मात्र खाद्यान्न ढुवानी गरेको थियो भने फिलिममा तीन हजार क्विन्टल ढुवानी गर्नुपर्नेमा नौ सय क्विन्टल चामल मात्रै ढुवानी भएको गोरखास्थित खाद्य संस्थानका प्रमुख टेकप्रसाद रेग्मीले जानकारी दिए।
 
सदरमुकामको गोदाममा एक वर्षदेखि चार हजार २२ क्विन्टल खाद्यान्न थुप्रिए पनि डिपोमा ढुवानी हुन सकेको छैन। दुर्गममा चामलको ढुवानी गर्न गङ्गाजमुना निर्माण सेवाले ठेक्का पाएपनि बाटो असजिलो भएको भन्दै खाद्यान्न ढुवानी गरेको छैन।
 
खाद्यान्न ढुवानी नगरेपछि संस्थानले गङ्गाजमुना निर्माण सेवाबाट रु तीन लाख धरौटी जफत गरिसकेको छ। भूकम्पपछि अवरुद्ध मनास्लु पदमार्गमा नियमित रुपमा खच्चड सञ्चालन गर्न नसक्दा खाद्यान्न ढुवानी गर्न नसकिएको संस्थानको कार्यालय गोरखाले जनाएको छ। उत्तरी भेगमा सडकको पहुँच छैन।
 
हेलिकोप्टरबाट ढुवानी गरेर भए पनि चामलको अभाव भएका क्षेत्रमा वितरण गर्नेबारे छलफल भइरहेको प्रजिअ नारायण भट्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell