
नेपालगन्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने संकल्प गरेको बताएका छन्।
शनिबार बाँकेको नेपालगन्जमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना रहेको भन्दै छिटो काम सक्न निर्देशन दिए।
'४७ प्रतिशतका काम भएको छ। समयभन्दा पहिला, गुणस्तरीय रुपमा, जनतासँग समन्वय गरेर छिटो काम गर्नुहोला,' उनले भने, 'सरकार छिटो र गुणस्तरीय काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नेछ। नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौं।’
प्रधानमन्त्रीले संविधान संशोधन, पुनर्निर्माण, विकासका आयोजना, राष्ट्रिय सहमतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। ‘उच्च अदालत गठनमा सहमति भएको छ। संविधान संशोधन, निर्वाचन लगायतका राष्ट्रिय महत्वका विषय सरकार समझदारीका साथ अघि बढ्नेछ,’ उनले भने।
राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्व राख्ने ठूला आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री नेपालगन्ज आएका हुन्। सो अवसरमा आयोजनाको तर्फबाट आयोजनाको प्रगति विवरणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो।