PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

दसैंका लागि मुस्ताङबाट ल्याइयो साढे सात सय च्यांग्रा, भोलिदेखि बिक्री सुरु

दसैंका लागि मुस्ताङबाट ल्याइयो साढे सात सय च्यांग्रा, भोलिदेखि बिक्री सुरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दसैंका लागि मुस्ताङबाट ७ सय ५० च्यांग्रा खाद्य संस्थानको बागमती अञ्चल कार्यालय (धान गोदाम) मा ल्याइएको छ। आज बिहान च्यांग्रा आइपुगेका हुन्। संस्थानले मूल्य तय गरी आइतबारदेखि बिक्री सुरु हुनेछ।
 
संस्थानले मुस्ताङमा १ हजार ५ सय वटा च्यांग्रा खरिद गरेको थियो। जसमध्य शनिबार मात्रै काठमाडौंमा ७ सय ५० च्यांग्रा आइपुगेका हुन्। संस्थानले ती च्यांग्रा मुस्ताङका कृषकसँग प्रतिकिलो ४ सय ८५ रुपैयाँमा खरिद गरेको हो।
 
शुक्रबार म्याग्दीमा १२ बजे अनलोड सुरु गरेपछि साँझ ५ बजे गाडी हिँडेको ट्रक चालक हरिकृष्ण दुलालले जानकारी दिए। उनले भने, 'हामीले आज बिहानको साढे ९ बजे गोदाममा च्यांग्रा ल्याएका थियौं।'
 
च्यांग्रा ल्याउने जिम्मा पाएका गोरखाको माछाखोला डिपोका प्रमुख बालानन्द बस्यालका अनुसार बाटोको असुविधाका कारण च्यांग्रालाई चार दिनदेखि मुस्ताङको जोमसोमदेखि गलेश्वरसम्म ल्याउनुपरेको थियो। त्यहाँबाट ७ वटा ट्रकमा च्यांग्रा धान गोदाममा ल्याइएको छ।
 
लामो दुरीको यात्रामा ५ वटा च्यांग्रा मरेको उनले जानकारी दिए। उनले भने, 'हामीले पशु चिकित्सकबाट परीक्षण गराएरै ल्याएका थियौं। तर बाटोमा जोखिमपूर्ण तरिकाले ल्याउँदा केही मरेका पनि छन्।'
 
च्यांग्राका लागि गोदावरी वन समितिसँग समन्वय गरेर घासको व्यवस्था गरेको छ।
 

खसीबोका भोलि मात्रै

संस्थानले १ हजार ५ सय खसीबोका दाङ, मकवानपुर तथा सिरहा लगायतका जिल्लाबाट ल्याउँदैछ। लहानबाट ६ सय ७५, हेटौंडाबाट ६ सय २५ र तुलसीपुरबाट २ सय वटा खसीबोका खरिद गरिएको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी दिए।
 
कार्कीका अनुसार संस्थानले खरिद गर्ने च्यांग्रा तथा खसीबोका बजार मूल्यभन्दा केही सस्तो पर्छ। संस्थानले स्थानीय किसानबाट खसीबोका खरिद गर्ने भएकाले सस्तो पर्न गएको हो।
 
'हाम्रो उद्देश्य स्थानीय किसानका उत्पादनलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई सर्वसुलभ मूल्यमा बिक्री गर्ने हो,' उनले भने, 'स्थानीय उत्पादन आयातित वस्तुको तुलनामा स्वभाविक रुपमा सस्तो पर्न जान्छ।'
 
संस्थानले खसी, बोका तथा च्यांग्राको स्वास्थ्य परीक्षणका लागि सम्बन्धित जिल्लामा पशु चिकित्सकको पनि व्यवस्था गरेको छ। संस्थानले चालू आर्थिक वर्षमा च्यांग्रा तथा खसीबोका खरिदका लागि मात्र ४ करोड ६७ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो।
 
गत वर्षको दसैं संस्थानले ५ सय वटा खसी र ७ सय च्यांग्रा मात्र बिक्री गरेको थियो। नाकाबन्दीका कारण इन्धन अभाव भएपछि पर्याप्त मात्रामा खसीबोका किन्न सकेको थिएन।


ट्रेन्डिङ पोस्ट

Ncell