भीमदत्तनगर : कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ।
गएराति मृतकका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए।
‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ,’ इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले भने, 'टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले थप रहस्यमय छ।'
मृतकका श्रीमान् बलरामले मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै झलारी बजारमा उपचारका लागि ल्याएको र पछि प्रहरीलाई खबर गरेको निरीक्षक रावलले बताए। ‘घटनास्थल हेर्दा महिलालाई खेतमा लछारपछार गरी नालामा धोएको जस्तो पनि छ,’ उनले भने, 'घटना रहस्यमय लागेपछि रातिदेखि नै विस्तृत अनुसन्धान सुरु गरेका छौं।'
झलारी बजारमा सामान्य उपचार गराइएकी रानालाई थप उपचारका लागि यहाँस्थित महाकाली अञ्चल अस्पताल पुर्याने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
इप्रका झलारीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।